१७५ सीसी इन्जिनमा आउँदै अप्रिलिया एसआर, अर्को महिना लन्च हुने

अप्रिलियाको प्रिमियम स्कुटर एसआर अब नयाँ र शक्तिशाली इन्जिनमा आउने भएको छ । हाल १६० सीसी इन्जिनमा उपलब्ध यस स्कुटरमा अप्रिलियाले १७५ सीसी क्षमताको नयाँ इन्जिन दिन लागेको हो । अर्को महिना लन्च हुने तयारीमा रहेको यस नयाँ स्कुटरले हालको एसआर १६० लाई प्रतिस्थापन गर्ने अनुमान गरिएको छ ।
एसआर १७५ मा १७५ सीसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिनेछ, जसले ७ हजार २०० आरपीएममा १२.७४ बीएचपी पावर र ६ हजार आरपीएममा १४.१४ एनएम टर्क जेनेरेट गर्दछ । नयाँ स्कुटरमा एसआर १६० जस्तै ब्लक प्रयोग हुने भएपछि बोर भने ठूलो हुनेछ ।
अगाडि टेलिस्कोपिक फोर्क र पछाडि सिंगल शक एब्जर्वर जडान हुने यस स्कुटरमा १४ इन्चको अलोय ह्विल तथा अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक प्रयोग हुनेछ ।
स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी र सिंगल च्यानल एबीएस र आरएस ४५० बाट लिइएको नयाँ रंगको टीएफटी डिस्प्ले उपलब्ध हुनेछ । साथै, यसको मूल्य एसआर १६० कै हाराहारीमा तय गरिने अनुमान गरिएको छ । अप्रिलियाले एसआर १६० लाई भारतमा १ लाख ३२ हजार भारुमा बिक्री गर्दै आएको छ ।
अप्रिलिया एसआर नेपाली बजारमा समेत उपलब्ध एक प्रिमियम स्कुटर हो । डेल्टा अटोकर्पले बिक्री गर्दै आएको एसआर १६० को मूल्य नेपाली बजारमा ३ लाख ९६ हजार रुपैयाँ पर्छ ।