दुई करोड ७२ लाखको लागतमा विद्युतीय सवारीसाधन ‘चार्जिङ स्टेशन’ निर्माण
रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ ।
स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे र ११ वटा तीनपाङ्ग्रे गरी १५ वटा सवारीसाधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान र शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।