काठमाडौंमा चैतको दोस्रो सातादेखि कोरोना भाइरसको संक्रमणको दर ह्वात्तै बढे
काठमाडौं । चैतको दोस्रो सातादेखि काठमाडौंमा कोरोना भाइरसको संक्रमणको दर ह्वात्तै बढेको छ । यतिबेला काठमाडौंमा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उपत्यकामा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् । तीमध्ये चार जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
बुधवार नेपालमा ९८ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा मंगलबारसम्म तीन सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।
ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ का कारण नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको जनस्वास्थ्यविदहरुको भनँइ छ । यो भेरियन्ट डेल्टा भेरियन्टसँग मिल्दाजुल्दो भएकोले सचेत रहन चिकित्सकले आग्रह गरिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।समिर अधिकारीका अनुसार यो भाइरस छिमेकी देश भारतमा फैलिएकाले नेपालमा पनि फैलन सक्ने जोखिम छ । डा.अधिकारीले रुघा, खोकी र ज्वरो जस्ता कोभिड–१९ का लक्षण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।























