असार २० गते बोलायो सानिमा लाइफ इन्स्योरेन्सले साधारण सभा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले असार २० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट प्रस्ताव गरेको ४.४२ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव छ । उक्त आर्थिक वर्षको नाफाबाट कम्पनीले ४.२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२२प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७६(/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुंग्याउनेछ ।
साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभामा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व हुने गरी एक जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । जसअनुसार असार ७ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।























