stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘पर्यवेक्षक निर्वाचनका आँखा र कान हुन्

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ– निर्वाचन आयोगका आयुक्त सगुन शमशेर ज.ब.राले पर्यवेक्षकहरू निर्वाचनका लागि आँखा र कान दुवै भएकाले इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ ।

निर्वाचन आयोगद्वारा बुधबार यहाँ आयोजित ‘पर्यवेक्षण संस्थाका लागि अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभयो । आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी बनाउन पर्यवेक्षण संस्थाका प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण
रहने उहाँले चर्चा गर्नुभयो ।

पर्यवेक्षकहरू मतदाताको विश्वास जित्न सबैसँग मिजासिलो भएर आदर सम्मान गर्न आवश्यक रहेको भन्नुहुँदै आयुक्त ज.ब.राले भन्नुभयो, ‘यस पटक स्थानीय तह सदस्य निर्वाचनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक नभएकाले इमान्दारि पूर्वक विश्वास जितेर काम गर्नुहोला ।’ निर्वाचन पर्यवेक्षणलाई प्रभावकारी बनाउन निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ जारी भइसकेकाले त्यसको परिपालना गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।

निर्वाचन अवधिमा देशभर पर्यवेक्षक बाँडिएर अनुगमन गर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै आयुक्त ज.ब.रा.ले सुगममा मात्र पर्यवेक्षक थुप्रिन नहुने बताउनुभयो । निर्वाचन सम्पन्न
भएपछि पर्यवेक्षण प्रतिवेदन आयोगमा पेश गर्न उहाँले आग्रह गर्नुभयो ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले पर्यवेक्षकलाई आफ्नो मतदातासूची रहेको पालिका बाहेक अन्य ठाउँमा पर्यवेक्षण गर्नुपर्ने जिम्मेवारी भएकाले सोहीअनुसार व्यवस्था गर्न आग्रह गर्नुभयो ।

एक दिने अभिमुखीकरण कार्यक्रममा आयोगका सहसचिव तथा प्रवक्ता पौडेल, सहसचिव
यज्ञप्रसाद भट्टराई, सहसचिव तुलसीबहादुर श्रेष्ठ, उपसचिव कमल भट्टराई, उपसचिव
सूर्यप्रसाद अर्याल लगायतको उद्घाटनसत्रमा सहभागिता थियो ।

कार्यक्रममा आयोगबाट पर्यवेक्षण अनुमति पाएका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । आयोगबाट निर्वाचन पर्यवेक्षण समिति नेपाल, नेपाल युवा परिषद, समाज कल्याण सेवा, मानव विकास केन्द्र नेपाल, शान्तिका लागि साझा अभियान, प्रगतिशील युवा क्लब, सहारा
फाउण्डेशन, स्वावलम्बी एकता समाज नेपाल, सिम्रिक फाउण्डेशन नेपाल, ग्रामीण साझेदारी विकास केन्द्र, मानव हित संरक्षण मञ्च नेपाल, पोखरा रिसर्च सेन्टर लगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा सहसचिव तुलसीबहादुर श्रेष्ठ, उपसचिव सूर्यप्रसाद अर्याल, उपसचिव लक्ष्मी शर्मा, उपसचिव कमल भट्टराई, शाखा
अधिकृत तीर्थराज चापागाई, छविकिरण पौडेल, श्रवणकुमार लुइटेल र जयकला राईले
विभिन्न विषयमा प्रस्तुति गर्नुभयो ।

सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता, २०७८ को प्रावधानबारे जानकारी गराउनुभयो । सो अवसरमा उहाँले आचरण वा व्यवहारको परिस्कृत नैतिक नियम प्रतिपादन गरी लेखिएको शास्त्र वा विधा आचारसंहिता भएको बताउनुभयो ।

त्यस्तै, सार्वजनिक अधिकारी, राजनीतिक दल, निजी क्षेत्र, व्यक्ति वा संस्थाको व्यवहार नियन्त्रण गर्ने लिखित नियमहरूको संगालो नै आचारसंहिता भएको बताउनुभयो । मान्छेको अनैतिक आचरण व्यवहार रोक्न र सम्बोधन गर्न तयार गरिएको दस्तावेज नै आचारसंहिता भएको जानकारी दिनुभयो ।

सहसचिव तुलसीबहादुर श्रेष्ठले स्थानीय तह सदस्य २०७९ निर्वाचन पर्यवेक्षणबारे
जानकारी गराउनुभयो । पर्यवेक्षकले आफ्नो दायित्वलाई सहिरूपमा पालना गर्नुपर्ने उहाँले
बताउनुभयो । पर्यवेक्षकले निष्पक्षरूपले पर्यवेक्षण गर्नुपर्ने र सबैसँग अनुशासित
र सुमधुर सम्बन्ध कायम गर्नुपर्ने उहाँले जानकारी गराउनुभयो ।

उपसचिव कमल भट्टराईले निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ को प्रावधानबार
जानकारी गराउनुभयो । पर्यवेक्षक भनेको आयोगबाट पर्यवेक्षणको अनुमति पाएका र
पर्यवेक्षण संस्थाबाट पर्यवेक्षण गर्न खटिएका व्यक्तिलाई जनाउँछ भन्नुभयो ।

पर्यवेक्षण अवधिमा कसैले कसैलाई मतदानमा वञ्चित गराउने गतिविधि देखेमा आयोग वा मतदान अधिकृत वा निर्वाचन अधिकृत वा निर्वाचन कार्यालयलाई सो को तुरुन्त जानकारी
गराउन आग्रह गर्नुभयो ।

उपसचिव सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन कानुनी व्यवस्थाबारे जानकारी
गराउनुभयो । अनुमति प्राप्त गरेका व्यक्ति वा संस्थाले पर्यवेक्षण कार्य समाप्त भएको
३० दिनभित्र प्रतिवेदन आयोग समक्ष दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले स्थानीय तह सदस्य निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहने जानकारी दिनुभयो । त्यस्तै, १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र रहने बताउनुभयो ।

आयोगका शाखा अधिकृत तीर्थराज चापागाईंले प्रस्तुतिको क्रममा पर्यवेक्षण संस्था र पर्यवेक्षकहरूले पूरा गर्नुपर्ने दायित्व,जिम्मेवारीका सम्बन्धमा स्पष्ट पार्दै निर्वाचन सम्बन्धी कानून, आयोगले जारी गरेको आचारसंहिता एवम् पर्यवेक्षण निर्देशिकाको उल्लङ्घन भएमा पर्यवेक्षण अनुमति खारेज हुने तथा पर्यवेक्षक परिचयपत्र समेत रद्द हुन सक्ने भएकाले सचेततापूर्वक र जिम्मेवारीपूर्ण तरिकाले पर्यवेक्षण गर्न हुन आग्रह गर्नुभयो ।

उहाँले पर्यवेक्षणका क्रममा आचारसंहिता विरुद्धका गतिविधि देखिएमा तुरुन्तै आयोगलाई जानकारी गराउन आग्रह गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मर्यादित बनाउन पर्यवेक्षकहरूको अहम् भूमिका रहेको समेत बताउनुभयो ।

शाखा अधिकृत छविकिरण पौडेलले ६ वटा महानगरपालिका बाहेक २३ समूहका ७७
प्रकारका मतपत्र हुने बताउनुभयो । ३ वटा स्वतन्त्र निर्वाचन चिन्ह रहने उहाँले जानकारी
दिनुभयो । वैशाख ३० गते मतदानका लागि वैशाख २७ र २८ गते मतदाताहरूले सम्बन्धित
निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र प्राप्त गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

२७ गते मंगलबार राती १२ बजेदेखि मौन अवधि शुरू हुने र सो अवधिमा प्रचार प्रसार
गर्न नपाइने उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा सहभागी प्रतिनिधिले
सवारी पास, मतदानको अधिकार, डिजिटल परिचयपत्रको सहज व्यवस्था गर्न आयोगका
पदाधिकारीसँग माग गर्नुभयो ।

दुर्गम ठाउँमा पर्यवेक्षण गर्न निर्वाचनभन्दा एक दिन अगाडि पुग्नुपर्ने बाध्यता रहेकाले आयोगले परिचयपत्र र सवारी अनुमति समयमै व्यवस्था गर्नुपर्ने उहाँहरूले माग राख्नुभयो । पर्यवेक्षकको दायित्व निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ ले विभिन्न ११ वटा बुँदामा पर्यवेक्षकको दायित्व निर्धारण गरेको छ ।

निर्धारित बुँदाअनुसार निर्वाचनसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग निर्वाचन सम्बन्धी विषयमा स्वतन्त्र र निष्पक्ष रूपमा संवाद गर्ने, आयोगले अनुमति दिएको क्षेत्र वा स्थानमा मात्र पर्यवेक्षण गर्ने, निर्वाचन प्रचार प्रसार अभियान, निर्वाचनमा लैङ्गिक तथा समावेशीताको अवस्था, मतदाताको निर्वाध आवत जावत, निर्वाचन सामग्रीको ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम समेतका विषयमा पर्यवेक्षण गर्ने रहेको छ ।

सोही अनुसार निर्वाचनसम्बन्धी प्रक्रियाको विभिन्न चरणमा सम्बन्धित राजनीतिक
दलहरूको सहभागिता रहे वा नरहेको विषयमा जानकारी लिने, निर्वाचन अधिकृतको
अनुमति लिएर मात्र मतगणना स्थलमा प्रवेश गर्ने, निर्वाचन अधिकृतको अनुमति लिएर
मात्र मतदान केन्द्रभित्र प्रवेश गर्ने, यसरी प्रवेश गर्दा मतदान केन्द्रको गोप्य कक्षमा
प्रवेश नगर्ने, निर्वाचन परिणाम घोषणा गर्दा अपनाइने प्रक्रियासम्बन्धी जानकारी लिने
आदि रहेको छ ।

त्यस्तै, पर्यवेक्षकको कार्यमा खटिँदा पर्यवेक्षकलाई प्राप्त परिचयपत्र सबैले देख्नेगरी लगाउनु पर्ने, आफूले पर्यवेक्षण गरेको प्रत्येक स्थानको प्रतिवेदन तयार गरी आयोगमा र आफूलाई नियुक्त गर्ने पर्यवेक्षण संस्थामा पेश गर्ने, पर्यवेक्षणका क्रममा कुनै किसिमको डर, त्रास, देखाई कुनै पनि मतदान केन्द्र वा मतदान केन्द्रको वरिपरि मतदातालाई स्वतन्त्ररूपले मतदान गर्नबाट बञ्चित गर्ने कार्य आदि भएको देखेमा सो सम्बन्धी जानकारी तुरुन्त आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृत वा निर्वाचन कार्यालयलाई गराउनुपर्ने रहेको छ

prabhu mahalaxmi
kumari