लुम्बिनीको. बज्रयान विहारलाई काठमाडौँ महानगरको थप सहयोग
लुम्बिनी । लुम्बिनीमा निर्माण भएको बज्रयान विहारको कलात्मक सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले थप १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ । बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले नेपाल परम्परागत बौद्ध धर्म, संघ लुम्बिनीको अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यलाई सहयोग रकमको ६० प्रतिशत रकमको चेक पहिलो चरणमा प्रदान गर्नुभएको हो ।
गएको कार्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहार उद्घाटन गरिसक्नु भएको छ । विहार बनाउन अहिलेसम्म करिब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड लगानी चाहिन्छ । यसमध्येको १ करोड ५० लाख रुपैयाँ महानगरले उपलब्ध गराएको हो ।
लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । यसको निर्माणका लागि काठमाडौँ महानगरपालिकाले यस अघि ४ करोड २९ लाख १८ हजार रुपैयाँ प्रदान गरिसकेको छ ।
सहयोग रकम प्रदान गर्दै मेयर शाक्यले, नेपालमा निर्माण हुने विहारमा नेपालकै लगानी हुनुपर्ने बताउनुभयो । ‘विदेशीले बनाएका विहारको शैलीमा नेपालीपन हुँदैन । नेपाली शैलीका विहार आफ्नै लगानीमा गर्नुपर्छ भनेर हामीले सहयोग गरेका हौँ ।’ मेयर शाक्यले भन्नुभयो, ‘हामीले लुम्बिनी सांस्कृतिक नगरसँग समन्वय गरेर सहयोग गरेका हौँ ।
काठमाडौँ केन्द्रीय राजधानी सहर भएकोले आफ्नो क्षेत्रबाहिर गएर पनि सहयोग गर्नुपर्छ । यसरी सहयोग गर्दा त्यहाँका पालिकासँग समन्वय गरेर काम गरेका छौँ ।’
बाँकी सहयोग रकम कामको प्रगतिका आधारमा दिइने मेयर शाक्यको भनाइ थियो ।
रकमको चेक ग्रहण गरिसकेपछि बौद्ध धर्म संघका अध्यक्ष प्रा. डा. बज्राचार्यले, शुभ कार्यका लागि दही ग्रहण गरेजस्तै महानगरले दिएको सहयोग रकम आफ्ना लागि सगुन भएको उल्लेख गर्नुभयो । ‘नेपालमा आफैले विहार बनाउनु हाम्रो दायित्व थियो ।
तर, गएको ३ सय ७२ अघिदेखि नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार बनेको थिएन । महानगरको सहयोगबाट ३ सय ७२ बर्षअघिको निर्माण सम्बन्ध जोडियो ।’ बज्राचार्यको भनाइ थियो ।























