जयनगर–जनकपुर–कुर्था रेलमार्ग सञ्चालनमा कर्मचारी भर्नामा विवाद
जनकपुरधाम । सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–कुर्था रेल सेवाका लागि कर्मचारी भर्ना विषयमा विवादमा सुरू भएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि पुराना अनुभवी कर्मचारी हटाएर ५५ जना नयाँ कर्मचारीलाई गुपचुप नियुक्त गरेपछि विवाद सुरु भएको छ । सप्तरीका झा नेकपा(एकीकृत समाजवादी) को कोटाबाट तीन महिनाअघि महाप्रबन्धकमा नियुक्त भएका थिए।
महाप्रबन्धक झाले रेल संचालनका लागि गत पुस २७ गते ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेल सम्बन्धी तालिम दिएकाहरुले विरोध गरेका छन् । रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल संचालनका लागि ज्यालादारीमा १५१ जना कर्मचारीलाई नियुक्त गरी दुई चरणमा तालिमसमेत दिएका थिए ।
गत वैशाखदेखि असारसम्म दुई चरणमा भएको तालिममा नेपाल रेल्वेको करिव १ करोड १५ लाख रुपैयाँ खर्च भएको थियो । ती कर्मचारीलाई भारतीय रेल कम्पनी कोर्कणले तालिम दिएको थियो ।
सरकार परिवर्तनसँगै रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियुक्त भएपछि ती सबै कर्मचारीलाई हटाएका थिए । महाप्रबन्धक झाले रेल्वेमा झण्डै वैशाखदेखि असारसम्म काम गरेकालाई पैसा नै नदिई एक सूचना प्रकाशित गर्दै सबैलाई हटाएका थिए ।
विगतमा दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारीले त्यसको विरोध गर्दै नयाँ कर्मचारीलाई तालिम दिएको स्थलमै गएर गत पुस २८ गते बुधबार विरोध गरेका छन् ।
स्टेशन मास्टरमा नियुक्त भई करिव २५ दिनसम्म तालिम दिएका मनोज यादवले बताए अनुसार १५१ जना कर्मचारीलाई तालिम दिन सरकारको १ करोड १५ लाख रुपैयाँ खर्च गरेको थियो तर आज फेरि नयाँ कर्मचारी भर्नामा लाखौँ खर्च गरिरहेको छ ।
ती पुराना र तालिम प्राप्त नियुक्तिलाई अवैध भन्ने महाप्रबन्धक झाले अहिले कुन कानुन टकेर नयाँ कर्मचारी भर्ना गरेको त्यसको स्पष्ट जवाफ चाहियो हटाइएका कर्मचारीहरूले प्रश्न गरेका छन।
सहायक स्टेशन मास्टर पदमा कार्यरत रहेका मञ्जय कुमार गोइतले पूराना जनशक्तिलाई हटाएर नयाँलाई नियूक्त गरी तालिम सञ्चालन गर्नु महाप्रबन्धक झाको मनोमानी रहेको बताएका छन ।
उनले पूराना कर्मचारीलाई समायोजन गरी उनीहरुको पनि व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । महाप्रबन्धक झाले नयाँ नियुक्त गरिएका कर्मचारीलाई भारतस्थित केआरसिएल कम्पनीका ट्रेनर मार्फत तालिम दिइरहेको छ।
गेट म्यान, ग्याङ म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि तालिम सञ्चालन भइरहेको छ ।महाप्रबन्धक झाले भने नेपालको कानुन अनुसार नै नयाँ कर्मचारी नियुक्त गरेको जवाफ दिने गरेका छन ।
यसैबीच नेपाल रेल्वे कम्पनीका तत्कालीन महाप्रबन्धक भट्टराईले पुरानो कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गरिएकोमा महाप्रबन्धक झाको चर्को आलोचना गरेका छन् । आफूले भर्ना गरेका कर्मचारीलाई अवैधानिक भन्ने महाप्रबन्धक झा अहिले कुन ऐन कानुन टेकेर नयाँ कर्मचारी भर्ना गरेको स्पष्ट गर्नुपर्ने उनले बताएका छन।
भट्टराई एमालेका कार्यकर्ता थिए। उनी मदिरा सेवन गरेर जथाभावी बोलेको भन्दै पटक( पटक विवादमा आएका थिए।

























