नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा व्यापक सुधार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणालीमा व्यापक सुधार गर्ने योजना सार्वजनिक गरेको छ । विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने प्रतिबद्धतासहितको कार्ययोजनामा प्राधिकरण लागेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी हिउँदमा उपत्यकामा दुई हजार मेगावाटसम्म विद्युत् निर्बाध वितरण गर्ने क्षमता बनाउन लागिएको दाबी गर्नुभयो ।
चिसो बढेपछि गत साता उपत्यकामा विद्युत् माग व्यापक बढेको थियो तर कम क्षमताका सबस्टेसन, ट्रान्सफर्मर र कमजोर वितरण सञ्जालका कारण पटक–पटक लाइन काटिएपछि ग्राहक असन्तुष्ट बनेका छन् । प्राधिकरणले विद्युत् उपलब्ध भए पनि ग्राहकको घरसम्म गुणस्तरीय बिजुली पु(याउन सकिरहेको छैन ।
घिसिङका अनुसार नेपाल सरकार, प्राधिकरणको लगानी, एसियाली विकास बैङ्क ९एडीबी० र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधारको बृहत् योजना अगाडि बढाइएको हो ।
“आउँदो हिउँदअघि उपत्यकाका निर्माणाधीन सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सकिएन भने पूर्वाधार अभावमा विद्युत् माग अनुसार आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ,” काठमाडौँको मातातीर्थ सबस्टेसन अवलोकनका क्रममा घिसिङले भन्नुभयो ।
ठेकेदारको ढिलासुस्ती
घिसिङले बनाएका योजना तत्काल सम्पन्न गर्न कम चुनौतीपूर्ण भने छैन । सडकमा विद्युत्ीय तार भूमिगत गर्न सडक विभागले अनुमति नदिने र स्थानीयवासीले रुट परिवर्तन तथा घर नजिक ट्रान्सफर्मर राख्न नदिँदा काम प्रभावित हुँदै आएको छ ।
ठेकेदार कम्पनीले समयमा काम नगर्ने तथा यस्ता गतिविधिमा प्राधिकरणको कडा नियमन नहुनुले पनि समस्या थप्छ । घिसिङले भन्नुभयो, “सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय गरिरहेका छौँ । अर्को हिउँदामा काठमाडौँ उपत्यकामा दुई हजार मेगावाटसम्म बिजुली आपूर्ति गर्ने क्षमता बनाउने हो।”
मस्र्याङ्दी र त्रिशूली नदी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याएर वितरण गर्न मातातीर्थमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसन निर्माणाधीन छ । आगामी असोजभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मातातीर्थ सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि ठूलो हब बन्दै छ ।


























