कांग्रेसमा शाही,पौडेल र गुरूङ केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । पुस १८ गते आइतबार केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा पराजित भएका जीवनबहादुर शाही, महामन्त्रीमा चुनाव हारेका प्रदीप पौडेल र सभापतिमा २० मत ल्याएर लज्जास्पद हार व्यहोरेका कल्याणकुमार गुरुङलाई मनोनित गरेका छन् ।
यो तीन जना सहित सभापति देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरि सकेका छन। जसमा ८ जना चुनाव हारेका र ५ जना चुनावनै नलडेका हुन।
अब २० जना मनोनित गर्न बाँकी छ। जसमा महिलाको ३३ प्रतिशत सिट सुरक्षित गर्न १३ जना महिलालाई मनोनयन गर्नु पर्छ। अहिले निर्वाचित ४१ जना र मनोनित २ जना गरि ४३ जना केन्द्रीय सदस्य केन्द्रीय सदस्य भएका छन। केन्द्रीय सदस्यमा ३३ प्रतिशत संख्या पुरयाउन ५६ जना केन्द्रीय सदस्य हुनु पर्छ। अझै अब १३ जना मनोनित गर्नु पर्दछ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको जनाएका छन ।
शनिबार मात्र सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा सहित १० नेतालाई मनोनित गरेका थिए । यसैबीच कांग्रेस केन्द्रीय समितिको बैठक भोली १९ गते २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।



























