रसुवाको सुक्खा बन्दरगाह निर्माण कार्य सुस्त गतिमा
घुन्चे। रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह आगामी तीन महिनाभित्र बनिसक्नु पर्ने गरि ठेक्का लागेपनि अहिलेसम्म यो बन्दरगाह निर्माणको कार्य करिव २० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
बन्दरगाह निर्माण सुरु भएको दुई वर्ष भइसकेको छ । सम्झौताअनुसार आगामी तीन महिनाभित्रै यो बन्दरगाह बनिसक्नुपर्ने हुन्छ ।
गतद२० नोभेम्बर २०१९ मा बन्दरगाह निर्माणका लागि शिल्यान्यास गरी औपचारिक रुपमा काम सुरु गरिएको थियो । बन्दरगाह निमार्णको जिम्मा चीनको तिब्बतस्थित टिबेट फूली कन्सट्रक्शन ग्रुप लिमिटेडले पाएको थियो । तीस महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म जम्मा २० प्रतिशत मात्रै काम भएको छ ।
टिबेट फूली कन्सट्रक्शन ग्रुप लिमिटेडले अहिले खोलाको किनारमा मेसिनरी वाल लगाउने काम गरिरहेको छ । खोला किनारको ६६० मिटर लम्बाइमा वाल लगाइने छ । हालसम्म २१० मिटरमा वाल लगाइएको छ । खोलाबाट १३ मिटर उचाईको वाल लगाइने छ ।
बर्षातको समयमा असहज हुने स्थानमा अहिले वाल लगाउने काम भइरहेको छ। बर्षातको समयमा सहज हुने ठाउँमा पछि काम गर्ने निर्माण कम्पनीले बताएको छ।
वर्षातअघि खोला किनारमा वाल लगाउने काम सम्पन्न गर्ने योजना रहेको छ । संरचना निर्माण आगामी वर्षदेखि सुरु गरिने भएको छ । चीनबाट कामदार आउन नसक्दा कामले गति लिन नसकेको निर्माण कम्पनीको भनाइ छ ।
निर्माणस्थलमा अहिले ३५ जना नेपाली र १५ जना चिनियाँ कामदार छन् । १० जना चिनियाँ दक्ष कामदार आउन नसक्दा निर्माणस्थलमा कामले गति लिन नसकेको बताइन्छ ।
चीनबाट कामदार आउन सकेका छैनन्, सिपयुक्त दक्ष कामदार अभाव छ, त्यसैले अहिले नेपाली कामदार थप गरी कामलाई तिव्रता दिइरहेको कम्पनीको दाबी छ।
सन् २०१९ को नोभेम्बरबाट काम सुरु गरि ३० महिना भित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना महामारी, चिनियाँ कामदार चीनबाट निर्माणस्थलमा आउन नसक्नु लगायतका कारण कामले गति लिन नसकेको जनाएको छ ।
अबको १८ महिना भित्रमा बन्दरगाह निर्माणको काम सम्पन्न गर्ने योजनामा निर्माण कम्पनी रहेको तिबेत फूली कन्सट्रक्शन ग्रुप लिमिटेडका म्यानेजर याङ इलीले बताएका छन् ।
नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । करिब १२ करोड ४० लाख चिनियाँ युआनको लागतमा सुख्खा बन्दरगाह निर्माण गरिने छ ।
चीन सरकारको आर्थिक सहयोगमा अन्तराष्ट्रियस्तरको सुबिधासम्पन्न बन्दरगाह निर्माण हुने बताइएको छ ।
८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहने छ । त्यसमा प्रशासनिक कार्यका लागि भन्सार, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायत कार्यालयहरू रहने रसुवागढी भन्सार कार्यालय टिमुरेले उच्च स्रोतले बताएको छ ।
तीन सय १५ भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरि पार्किङस्थल निर्माण हुने छ । त्यसैगरि ७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुने बताइएको छ ।























