सेयर बजारमा सामान्य बढोत्तरी, लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा
काठमाडौं । सेयर बजार आज पुस १४ गते बुधबार सामान्य अंकले उकालो लागेको छ। बजार आज ५.५१ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५२४.५० को विन्दुमा उक्लिएको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ अंकले बढेर ४७१.२४ को विन्दुमा उक्लिएको छ। आज साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
नेपालको पुँजीबजारको लगानीकर्ताहरू भन्छन्– अहिले दोस्रो त्रैमासको क्लोजिङले बजारमा केही दबाब परेको छ। विस्तारै पुँजीगत खर्च बढ्दै जाँदा तरलता पनि बढ्ने र ब्याजदर पनि नियन्त्रण हुने भएकोले सेयर बजार सकारात्मक नै हुन्छ।
आजको बजारलाई हेर्दा लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्था रहेको भन्ने बुझ्न सकिन्छ। पुस मसान्तपछि बजार बढ्ने नै छ, समग्रमा बजार सकारात्मक नै छ।
पुँजीबजार लगानीकर्ताहरूको विश्लेषण छ– करेक्सन सकिएर बजार सम्हालिन खोजेको छ। आज दिनभरको अवस्था हेर्दा धेरै समयसम्म बजार सकारात्मक नै थियो र अन्त्यतिर सकारात्मक नै भएर बन्द भयो। बजार सबै नकारात्मक कुराहरुलाई पचाएको देखिन्छ।
लगभग ३०० विन्दु बढेर बजारमा करेक्सन आएको छ। बजार अब २५०० को विन्दुबाट तल झर्ने सम्भावना छैन।
नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको पछिल्ला कदमले पनि बजारलाई सकारात्मक पारेको देखिन्छ। लगभग अहिलेको परिदृश्यले बजार माथि नै जाने देखिन्छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। आज निर्जीवन बीमा समूह सर्वाधिक २.२१ प्रतिशतले उकालो लागेको छ।
अन्य समूह ०.९९ प्रतिशतले बढेको छ। आज बैंकिङ समूहमा ०.०४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५७ प्रतिशत, जलविद्युत समूहमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८४ प्रतिशत, अन्य समूहमा ०.९९ प्रतिशत, लघुवित्त समूहमा ०.२४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.१३ प्रतिशतले बढोत्तरी भएको छ।
आज विकास बैंक समूह सर्वाधिक ०.७ प्रतिशते ओरालो लागेको छ। व्यापार र जीवन बीमा समूह ०.५ प्रतिशतले घटेको छ। आज लगानी समूहमा ०.३२ प्रतिशत र वित्त समूहमा ०.२१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु:
आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ५६ लाख ३८ हजार २७९ कित्ता सेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँमा किनबेच भएका छन्।
आज हिमालयन डिस्टिलरीको सर्वाधिक ५२ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज मञ्जुश्री फाइनान्सको २२ करोड ३१ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको २० करोड ६३ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ४० लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ९६ लाख रुपैयाँ, कृषि विकास बैंकको ९ करोड ८५ लाख रुपैयाँ, अपी पावरको ९ करोड २१ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ५ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू :
आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरभाउ १० प्रतिशतको हाराहारीमा बढेको छ। नेपाल बंगलादेश बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाएका छन। यो बैंकको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।






















