प्रहरीमा दुई डिआईजीको बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
प्रहरीको बढुवा समितिको गत पुस ७ गते बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा. सञ्जयविक्रम श्रेष्ठ र डा. गोपेशकुमार ठाकुरलाई डीआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको छ ।
डा. श्रेष्ठ र डा. ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव मानवश्रोत विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले बताएका छन् ।
नेपाल प्रहरी अस्पतालमा कार्यरत दुबै अधिकारीको बढुवासँगै त्यहाँ विगतमा भइरहेको पावर क्ल्यास मत्थर हुने विश्वास गरिएको छ ।
अस्पतालमा गुटगत प्रतिस्पर्धा र भ्रष्टाचारका कारण साना प्रहरी अधिकारी उचित स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएको गुनासो सुनिएको छ ।





















