citizens life insurance long ad

कांग्रेस नेतृत्वमा उद्योगी व्यवसायीहरूकाे पकड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मत गणना चलिरहेको छ। केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा अधिकांश क्लस्टरको मत परिणाम आए पनि केहीको मत गणना भैरहेकाे छ।

पछिल्लो तीन महिना गाउँ/नगर वडा तहदेखि सुरु भएको कांग्रेस महाधिवेशनमा यो पटक केही नयाँ अनुहारका युवाकाे जताततै बचस्व भयो। कतै युवाहरू कार्यसमितिमा पुगेको, कतै विवादित व्यक्तिहरू निर्वाचित भए। वर्षौंदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर पटक-पटक मन्त्री, सांसद र जनप्रतिनिधि भइसकेका व्यक्तिहरू गाउँ/ नगर वडा तहकाे क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि तहमै पराजित भएकाले कांग्रेसको राजनीति तातियो।

त्यतिमात्र होइन, नेपाली कांग्रेसको १४औँ महाधिवेशन अर्को कारणले पनि अलि बढी नै चर्चित भयो। त्यो हो उद्योगी – व्यवसायीको कांग्रेसमा खुला सक्रियता र नेतृत्वमा दाबी गरेर स्थापित पनि भए। नेपालमा उद्योगी-व्यावसायीहरू सक्रिय राजनीतिमा सामान्यत: आउन वा संम्लग्न हुन चाहदैनन।

पार्टीलाई चुनावमा चन्दा दिएर, पार्टी प्रमुखहरूलाई सहयोग गरेर समानुपातिक सूचीबाट सांसद हुने उद्योगी व्यापारीकाे प्रवृत्ति पनि बढेको छ। नेपाली कांग्रेसबाटै यसअघि त्यस्ता व्यवसायीहरू संविधान सभाका सदस्य पनि भएका थिए ।

अहिले पनि उद्योगी व्यवसायीहरू सांसद छन्। उद्योगी-व्यवसायीहरू कांग्रेसको अधिवेशनमा भाग लिएर निर्वाचनको प्रक्रियाबाट पार्टी संगठनमा त्यति जोडिन रुचाउँदैनन्। व्यावसायिक जोखिम लिने तर राजनीतिक जोखिम लिन नचाहने उनीहरूकाे चाहना देखिन्छ।

तर, यो पटकको कांग्रेस अधिवेशनमा यसमा केही फरकपन देखिएकाे छ। उद्योगी – व्यवसायीहरू कांग्रेसको अधिवेशनमा सकृय रूपमा भाग लिएर महाधिवेशन प्रतिनिधि भई केन्द्रीय समितिमा प्रतिस्पर्धा मै आएका छन। याे उद्योगी -व्यवसायीहरूकाे ठुलाे साहस हाे।

प्रतिष्ठित व्यवसायीहरू कांग्रेस महाधिवेशन प्रधिनिधिका लागि क्षेत्रमै गएर प्रतिस्पर्धा गरे। निर्वाचित भएर पनि आए। नाम चलेका र कतिपय सामानुपातिक सांसदसमेत रहेका त्यस्ता व्यवसायीहरू प्रतिनिधिमात्र निर्वाचित भएनन्, केन्द्रीय कार्यसमिति सदस्यमै प्रतिस्पर्धा गरे।

यस्तो प्रतिस्पर्धामा कति निर्वाचित भए कति पराजित पनि भए। डलर अर्वपति उद्योगी व्यवसायी विनोद कुमार चौधरी, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन,व्यवसायी दिव्यमणी राजभण्डारी,शिक्षा,स्वास्थ्य क्षेत्रका व्यवसायी उमेश श्रेष्ठ, क्यासिनाे व्यवसायी राजेन्द्र बजगाई, निर्माण ठेकेदार मोहन आचार्य, जिपछिरिङ लामा,बहादुर सिंह लामा,गणेश लामा जस्ता नाम चलेका उद्योगी-व्यवसायी कांग्रेसको राजनीतिमा सकृय भएर लागेका छन।

यी व्यवसायीहरू निर्वाचनको प्रक्रियाबाटै नेपाली कांग्रेसको अधिवेशनमा सहभागी भएका थिए। उनीहरू खुलेर कांग्रेसमा सहभागी भए। त्यस्तै पर्यटन व्यवसायी डा.रामशरण थपलिया, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, चिनी उद्योगी विरेन्द्रकुमार कनौडिया लगायतका व्यवसायीहरू कांग्रेसको सक्रिय राजनीतिमा संम्लग्न छन्।

राजनीतिक दलसँग आर्थिक सम्बन्धमात्र बनाउने र त्यसको बदलाबाट प्रतिष्ठाका लागि सांसद, मन्त्रीसम्मको सुविधा लिने भनेरमात्र चिनिएका यस्ता व्यवसायीहरू राजनीतिक संगठनमै सक्रिय भएर आउनु राम्रो पक्ष हाे। उद्योगी- व्यवसायीहरू राजनीतिमा आउदा देशमा उद्योग- व्यवसाय मैत्री नीति,ऐन- कानुन निर्माण गर्न त्यस्ता ऐन- कानुन छिटाे कार्यान्वयन गर्न सहयाेग पुग्ने विश्वास गर्न सकिन्छ।

उद्योगी- व्यवसायीहरू एउटा पार्टीको संगठनमा सक्रिय हुँदा अरु राजनीतिक दलसँगको सम्बन्धनको दुरी बढ्ने डरले अधिकांश राजनीतिक रुपमा खुल्न चाहँदैनन्। तर कांग्रेसको केन्द्रीय समितिमै पुगेका कतिपय यस्ता उद्योगी व्यवसायी छन् जसले ठूलो व्यावसायिक साम्राज्य खडा गरेका छन्। यीमध्ये कांग्रेस भएर व्यवसायी भएका जिपछिरिङ लामा, दिव्यमणी राजभण्डारी बाहेक अरु छैनन्।

व्यवसायी बनेर कांग्रेस बनेकाहरूको संख्या भने धेरै रहेकाे छ। जिपछिरिङ लामा खुला केन्द्रीय सदस्यमै निर्वाचित भइसकेका छन्। अहिले पनि कांग्रेसको तर्फबाट सांसद रहेका उनीसँगै अहिलेका तीनजना सांसद केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्।

लामासँगै ठेकेदार इञ्जिनियर मोहन आचार्य पनि खुलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। अर्वपति विनोद कुमार चौधरी मधेसी खुलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने अहिले राज्यमन्त्री समेत रहेका उमेश श्रेष्ठको मतगणना जारी छ।

क्यासिनाे व्यवसायी राजेन्द्र बजगाइँ भने केन्द्रीय सदस्यमा पराजित भएका छन्। पार्टीलाई चन्दामात्र दिएर सम्बन्ध बनाइराख्न रुचाउने व्यवसायीहरू मौका पाउँदा कांग्रेसमा खुलेर लाग्नेमात्र होइन सांगठनिक प्रतिस्पर्धामै भाग लिन किन रुचाउँछन् ?

हामीले यो प्रश्न सांसद तथा कांग्रेसमा नवनिर्वाचित केन्द्रीय सदस्य जिपछिरिङ लामालाई सोधेका थियौँ। कांग्रेस उदार लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्नेमात्र होइन त्यस्तो व्यवस्थाका पक्षमा सुरुदेखि नै लागिपरेको पार्टी भएकाले व्यवसायीहरू खुलेर राजनीति गर्न सहज मान्ने जिपछिरिङको बुझाइ रहेकाे छ।

‘म त २०३६ सालदेखि कांग्रेसको राजनीतिमा छु। तर व्यवसायीको नाताले भन्दा कांग्रेस लोकतान्त्रिक पार्टी हो। यो पार्टीले लोकतन्त्र, व्यक्तिगत सम्पत्तिको सुरक्षा, व्यक्तिगत क्षमताको उच्चतम उपयोगको अवसरको प्रत्याभूति दिन्छ’ उनले बताए। कांग्रेस बाहेकका राजनीतिक दलहरूले सुरुदेखि नै व्यवसायीप्रति नकारात्मक सार्वजनिक धारणा बनाउने गरेको र चन्दा मागेर हैरान पार्नेजस्ता कामले व्यवसायीहरू खुलेर राजनीति गर्न हच्किने उनको बुझाइ रहेकाे छ।

‘अहिले पनी हामीले देखेका छौँ अरुले बेलाबेलामा चन्दा मागेर हैरान पार्छन्। तर कांग्रेस त्यस्तो पार्टी हो जसले अरूहरूको जस्तो गर्दैन। यस्ता कुराले पनि व्यवसायी माझ कांग्रेसलाई सहज रुपमा स्वीकार्य पार्टी बनाएको छ’ लामाले बताए।

IME Life
kumari