नेपाल–भारत एयर बबल सम्झौता संशोधन हुने
काठमाडौं । एयर बबल सम्झौता अन्तर्गत हुँदै आएको नेपाल–भारत नियमित उडान संख्या विस्तार हुने भएको छ । दुवै मुलुकका वायुसेवा कम्पनी मार्फत उडान संख्या थपेर साताको ५६ वटा गर्ने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ ।
यस सम्बन्धमा भारतीय राजदूतावासले मन्त्रालयका पत्र पठाएको बुझिन आएको छ । पत्रमा दुवै मुलुकको नियमित उडान संख्या बढाउँन भनिएको छ । तर साताको कति संख्यामा उडान गर्ने भन्ने कुरा आपसी सहमति गरिने भएको छ । दुबै देशबीचमा अहिलेको मागलाई सम्बोधन गर्ने गरि दुवै मुलुकबाट २८–२८ वटा उडान हुने गरी तालिका बनाउन जोड दिइएको छ ।
पत्रमा राष्ट्रिय ध्वजावाहक बाहेक निजी कम्पनीको विषयमा उल्लेख गरिएको छैन। तैपनि नेपाल–भारत उडान गर्दै आएका निजी वायुसेवा कम्पनीलाई पनि समावेश हुने किसिमले छलफल गर्न अघि बढेको बुझिन आएको छ।
मल्टी एयरलाइन्स सञ्चालनमा आएसँगै प्रतिस्पर्धा हुनेछ र यसले दुवैतिरको भाडादर पनि सस्तिन सक्नेछ। प्रतिस्पर्धासँगै यात्रुलाई फाइदा हुने छ। हाल दुवै मुलुकका ध्वजावाहक कम्पनी मार्फत साताको सात(सात वटा उडान हुँदै आएको छ।
नेपालका तर्फबाट पर्यटन उड्डयन मन्त्री प्रेमबहादुर आले र भारतका उड्डयन मन्त्री ज्योतिरादित्य माधवराज सिन्धियाबीच गत शुक्रबार नयाँदिल्लीमा भएको भेटमा एयर बबल एग्रिमेन्ट संशोधनका लागि कुराकानी भएको थियो ।
मन्त्री आलेले नेपाल–भारत उडान संख्या थप्न ‘एयर बबलु सम्झौताले समस्या देखिएको बताएका थिए भने सिन्धियाले उक्त सम्झौता खारेज वा संशोधन गर्न सकिने संकेत गरेका थिए ।
त्यस लगत्तै भारतीय दुतावासबाट पत्र आएको हो। भारतीय राजदूतावासले दिल्लीबाहेक अरु रुटहरु पनि खुला गर्नका लागि पत्राचार गरेको मन्त्रालयले स्रोतले बताएको छ । दुवै मुलुकको प्राविधिक निकाय नागरिक उड्डयन प्राधिकरणले एउटा फाइनल रिपोर्ट दिएपछि उडान संख्या र गन्तव्य विस्तार हुने मन्त्रालयले स्रोतको भनाई छ ।
कोभिड–१९ का कारण भारतले एयर बबल एग्रिमेन्ट सुरु गरेसँगै करिब १० महिनायता दुई वायुसेवा कम्पनीले मात्र दिल्ली–काठमाडौंको नियमित उडान गर्दै आएका छन्।
कोभिड–१९ महामारी अगाडि नेपाल–भारत बीच काठमाडौंबाट नेपाल वायुसेवा निगम र बुद्ध एयरले भारतको दिल्ली उडान गर्दै आएका थिए भने भारतको दिल्लीबाट एयर इण्डिया, भिस्तारा (अहिले एयर इण्डिया र भिस्तारा गाभिइसकेका छन्), इण्डिगो लगायत वायुसेवा कम्पनीले गर्दै काठमाडौं उडान गर्दै आएका थिए।
कोभिड–१९ अगाडि भारत–नेपाल पुनः नियमित उडान सुरु गर्ने योजना बनाएको भारतको स्पाइस जेटको उडान अहिलेसम्म प्रक्रियामै अड्किएको छ।
यसैगरी नीजि क्षेत्रका श्री, यती एयरलाइन्स लगायत वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय नियमित र चार्टर उडानको अनुमति पाइसकेका छन् । एयर बबल एग्रीमेन्ट संशोधन भएको अवस्थामा करिब एक वर्षपछि दुवै मुलुकका निजी वायुसेवा कम्पनीले पनि यो गन्तव्यमा दुईतर्फी नियमित उडान गर्न पाउने भएका छन्।
कोरोना महामारी सुरु भएपछि सुरु भएको लकडाउनसँगै हवाई उडानहरु बन्द गरिएका थिए। नेपाल–भारत उडान भने भारतको ‘एयर बबलु सम्झौताअनुसार सुरु भएको थियो। अन्य मुलुकसँगको उडान ठप्प रहँदा पनि दिल्ली–काठमाडौं सीमित संख्यामा भएपनि उडान भैरहेको थियो । दुवै मुलुकका ध्वजावाहक कम्पनीले उडान गर्ने र संक्रमण सतर्कताका लागि कडा सर्त रहेकाले केही महिना टिकट दर निकै महँगो भएको थियो।
खोप सहज भएर स्थलमार्ग सहज भएपछि दुबै देशका स्थल सीमा नाका खुला भइसकेका छन्। तर सम्झौताले गर्दा दुवै मुलुकले काठमाडौं–दिल्ली उडानमा निजी क्षेत्रका विमान सेवालाई अनुमति दिएका छैनन्।
निजी क्षेत्रका कम्पनीलाई अनुमति दिँदा सेवामा प्रतिष्पर्धासँगै भाडादर घट्न सक्छ। तर सम्झौताले बाधा भएको अनुभव गरेपछि नेपाल–भारत मन्त्रिस्तरीय भेटघाटमा ‘एयर बबलु को प्रावधान हटाउने वा त्यसमा संशोधन गर्ने भन्ने छलफल सुरु भएको छ।
कोरोना महामारीको असर कम हुँदै जाँदा नेपाल–भारत आवागमन बढेको छ। यस्तो बेलामा सुरक्षा सतर्कतासहित उडान संख्या थप्न र भाडादर प्रतिष्पर्धी बनाउन दुवै देशका अधिकारीहरु सकारात्मक देखिएका छन्। छिटै यसमा संशोधन वा खारेज हुने सम्भावना छ।

























