citizens life insurance long ad
stcnepal long ad

सेनामा ६ कर्णेलको बढुवा हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनामा भएको पछिल्लो नियम परिवर्तनले ६ जना फुलकर्णेल (महासेनानी) लाई बिग्रेडियर जर्नेल (सहायक रथी) हुने बाटो खुला भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले घर जाने बेलामा नेपाली सेनाको सैनिक सेवा नियमावली–२०६९ चौथो पटक संशोधनका लागि रक्षा मार्फत मन्त्रिपरिषदमा पठाएका थिए । यसपटकको संशोधनमा सेनाको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा सहभागी हुने मापदण्ड परिवर्तन गरिएको छ ।

यो संशोधनसँगै कमाण्ड तथा स्टाफ कलेज तालिममा तेस्रो श्रेणी (चार्ली) ग्रेड र स्नातक पास नगरेका समेतले हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा सहभागी हुन् पाउने व्यवस्था गरिएको छ।

कमाण्ड तथा स्टाफ तालिममा पुरानो नियम अनुसार ग्रेडिङ गर्दा उत्कृष्ट हुनेलाई अल्फा (ए), दोस्रोलाई ब्राभो (बी) र तेस्रोलाई चार्ली (सी) दिने गरिन्छ ।

यही नियम अनुसार नगरकोटस्थित वार कलेजमा गत भदौं १३ गतेबाट सुरु भएको सो तालिममा त्यसको दुईदिन पछि ६ जना महासेनानीहरुले सहभागी हुने अवसर पाएका छन् । नियमावली संशोधनको सूचना राजपत्रमा १४ भदौंमा प्रकाशित भएपछि त्यसको अर्को दिन मात्रै ६ जना महासेनानीलाई तालिममा सहभागी गराइएको थियो ।

यसरी सहभागी हुनेहरुमा प्रधानसेनापति पूर्णचन्द्र थापाका आफन्त महासेनानी लक्ष्मण थापासहित अन्य पाँच जना रहेका छन् । वार कलेका अनुसार महासेनानीहरु पुरुषोत्तम ढकाल, सुनिल घले, सन्तोष पाण्डे, मदन बञ्जरा र सुरत रावल तालिममा सहभागी भएका छन्।

नेपाली सेनाको २८ तथा २९ बेसिकका यी अधिकारीहरुले स्टाफ तालिम गरेको १० वर्षभन्दा बढी समय भइसक्दा समेत पुरानो नियमका कारण हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम लिन पाएका थिएनन् ।

सेनामा पुरानो नियमावली अनुसार महासेनानीबाट सहायक रथी बढुवाका लागि हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम अनिबार्य गर्नुपर्ने व्यवस्था थियो । यो तालिमका लागि कमाण्ड तथा स्टाफ तालिममा अल्फा र ब्राभो ग्रेड र स्नातक शिक्षा अनिबार्य थियो ।

संशोधित नियममा नियमावली ४५ को उपनियम (१२) मा रहेको पुरानो व्यवस्था हटाउँदै हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा महासेनानी र प्रमुख सेनानी दर्जाका शिक्षार्थी छनौट गर्दा स्वदेश वा विदेशमा कमाण्ड तथा स्टाफ कलेज तालीम उत्तीर्ण भएको वा गणपति तालीम वा अल आट्र्स कमाण्ड तथा स्टाफ कोर्ष वा युनिट कमाण्ड तथा स्टाफ कोर्ष तालीम उत्तीर्ण गरेको हुनुपर्ने नियम संशोधन गरिएको थियो ।

यस्तै पछिल्लो तीन वर्षको नेकिबदीको न्यूनतम औसत अङ्क सत्तरी प्रतिशत प्राप्त गरेको र मूल्याङ्कनको आधार (कार्यसम्पादन बापत पचास, तालीम बापत पैंतालिस र छनौट बोर्डको मूल्याङ्कन बापत पाँच) को आधारमा तय भएको योग्यताक्रम अनुसारमा छनौट गरिने भन्ने व्यवस्था राखिएको छ ।

नेपाली सैनिक वार कलेजमा भदौं १३ गतेदेखि सि. सं–१० हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । कलेजमा आयोजित एक कार्यक्रमकाबीच उपरथी बालकृष्ण कार्कीले यसको सुरुवात गरेका थिए ।

नेपाली सेनाका उपरथी कार्कीले शिक्षार्थी अधिकृतहरुलाई गरेको सम्बोधनमा तालिमले सहभागीहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्नुको साथै जटील अपरेशनल वातावरणमा समेत समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

यो तालिममा पहिला २९ जना महासेनानी तथा प्रमुख सेनानी सहभागी थिए । अहिले यो संख्या बढेर ३५ पुगेको छ । करिब १६ हप्ता चल्ने यो तालिम सैनिक अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक तथा नेपाली सेनामा संचालन हुने सबैभन्दा उच्च तालिम हो ।

IME Life
kumari