सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने
काठमाडौं। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा राज्यको ५ अर्ब खर्च हुने र इम्बोस्ड नम्बर प्लेट जडान गर्दा सेवाग्राहीबाट ७ अर्ब राजस्व असुल भइ सरकारलाई २ अर्ब फाइदा हुने छ।
हालसम्म १९ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । भाषाको विषयमा सर्वोच्चमा मुद्दा परेका कारण विचमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोकिएकाले यसको जडान संख्या कम भएको छ।
यातायात सम्बन्धी यो काम प्रदेश सरकार अन्तर्गत हुँदै आएकाले प्रदेशमा जाने सो रकम केन्द्रमा कसरी ल्याउन सकिन्छ भनेर यश विषयमा त्यसबारे छलफल भैरहेको छ ।
दिनमा १० हजार नम्बर प्लेट छाप्ने मेसिन ल्याउने तयारी यातायात व्यवस्था विभागले गरिरहेको छ। अहिले विभिन्न ४ स्थानबाट यस्तो प्लेट छापिने गरेको छ ।
थानकोट नाकामा इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारी साधान स्क्यान गर्ने गेट राख्ने तयारी भैरहेको छ।
साथै काठमाडौं उपत्यकाका भक्तपुरको जगाती, काठमाडौंको नागार्जुन, फर्पिङ, जोरपाटीका साथै काठमाडौं उपत्यका बाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर र अत्तरिया गरी जम्मा १० स्थानमा आरएफआइडि गेटको निर्माण गरिने महानिर्देशक घिमिरेले जानकारी दिएका छन् ।
२०७३ साल जेठ १७ गते यातायात व्यवस्था विभागले डेकाटुर टाइगर आईटीसँग इम्बोस्ड नम्बर प्लेट खरिद सम्झौता गरेको थियो । हालसम्म यसका लागि ५० करोड लगानी भइसकेको छ ।























