एआइजीमा बढुवा थापालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदबाट एआइजी पदमा बढुवा गर्ने निर्णय अनुसार आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिपछिको नयाँ जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए । सङ्गठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने महानिरीक्षक थापाको भनाइ थियो ।
पदोन्नति भएका थापाले नेपाल सरकार एवं प्रहरी सङ्गठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ सङ्गठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


























