stcnepal long ad
global ime bank long

काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु : निषेधाज्ञामा के गर्न पाइन्छ ? के पाइँदैन ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा लगाएको छ ।

काठमाडौंमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा हुने भएपछि गएरातिसम्मै काठमाण्डौबाट घर फर्कनेको घुइँचो लागेको थियो । चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा लगाइएको छ ।

दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना सङ्क्रमणबाट बच्न सरकारले बिना काम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना लगायत सञ्चालन गर्न पाइँदैन ।

विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी ब्यानर सहितका दुईवटासम्म गाडी प्रयोग गर्न पाइने छ । विवाह/व्रतबन्धमा सहभागी भएर अन्यत्र जिल्लाबाट फर्कनु पर्ने भए चालक सहित बढीमा सात जनासम्मका लागि पालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेस गर्नुपर्नेछ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका गाडी, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने बाहेक अरु गाडी प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वरेण्टीन, आइसोलेशन, फोहर मैला व्यवस्थापन लगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । सरकारी कार्यालय लगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिएर गाडी प्रयोग गर्न पाइने छ ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडीको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै एयरपोर्ट जाने गाडीका लागि सहजीकरण गरिने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

अस्पताल आउनेजाने बिरामी वा कुरुवा तथा मृत्यु संस्कारमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्थामा गाडी प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनुपर्ने भएको छ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल व्यवसाय बाहेकका अन्य व्यवसाय अहिलेलाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइनेछ ।

IME Lifesidebar
kumari