stcnepal long ad
global ime bank long

देशका सबै जातजाति र समुदायको खानाको परिकार अध्ययन गर्दै नाथम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले पर्यटन उद्योगमा सीपयुक्त दक्ष मानव संसाधन उत्पादन गर्ने अग्रणी संस्थाको परिचय बनाउन सफल भएको छ । प्रतिष्ठानले हालसम्म शैक्षिक कार्यक्रमतर्फ दुई हजार तथा विभिन्न समयावधिका तालिममार्फत ५४ हजार जनशक्तिलाई गुणस्तरीय स्वरोजगारमूलक शैक्षिक कार्यक्रम र तालिम प्रदान गरिसकेको छ ।

विस २०२९ चैत १३ गते स्थापना भई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको प्रतिष्ठानले पर्यटन क्षेत्रको जनशक्ति विकाससम्बन्धी स्नातकोत्तर तहसम्मको अध्ययन, अनुसन्धानका साथै परामर्श सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक दीपककुमार थापाले जानकारी दिनुभयो ।

झापाको बिर्तामोड, महोत्तरीको बर्दिवास र बाँकेको नेपालगञ्जमा शाखा विस्तार गरेको प्रतिष्ठानले होटल व्यवस्थापन सम्बन्धी विभिन्न छोटा तथा लामो अवधिका ५० भन्दा बढी विषयमा तालिम र शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिष्ठानले आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना पकाउने, स्वागत तथा आतिथ्य प्रदान गर्ने, ट्राभल एजेन्सी सञ्चालन गर्ने, टिकट बुकिङ गर्नेलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न तालिम प्रदान गरिरहेको छ ।

प्रतिष्ठानले हिमाल आरोहण भरिया तालिम, पर्यटक पथप्रदर्शक तालिम, घरबास सञ्चालन तालिम, साना तथा लज व्यवस्थापन तालिम, स्थानीय पथप्रदर्शक, पाहुना आतिथ्य तथा खाना गुणस्तर सुरक्षालगायतका दर्जनौँ प्रकारका तालिम प्रदान गर्दै आएको छ ।

शैक्षिक कार्यक्रमतर्फ प्रत्येक वर्ष ५४० भन्दा बढी विद्यार्थी वार्षिकरूपमा भर्ना भई अध्ययन गरिरहेको बताइएको छ । प्रतिष्ठानबाट हालसम्म उत्पादितमध्ये ९५ प्रतिशत जनशक्ति विश्वबजारमा सहजरूपमा प्रवेश गर्न सफल भएका छन् ।

९५ प्रतिशत जनशक्ति खाडी र युरोपसहित विश्व बजारमा

खासगरी मलेशिया, कतार, दुबईलगायतका खाडी मुलुक र युरोपका बजारमा यहाँबाट उत्पादित जनशक्तिले सहजरूपमा रोजगारी प्रात गरिरहेको निर्देशक थापाले जानकारी दिनुभयो ।

सरकारी भए पनि प्रतिष्ठानले आफ्नो ओज र गरिमालाई स्थापित गर्न सरसफाइ र समयतालिकाअनुसार सबै गतिविधिलाई नियमित र चुस्त तुल्याउँदै आएको छ ।

प्रतिष्ठानले निकट भविष्यमै केन्द्रमा बीएचएम सम्बन्धी प्रत्येक सेक्सनमा ४० रहने गरी छवटा कक्षा, बीटीटीएम चारवटा कक्षा र एमएचएम एउटा कक्षाको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विर्तामोड, बर्दिवास र नेपालगञ्जमा पनि बीएचएमका दुई–दुई सेक्सन शैक्षिक कार्यक्रम निकट भविष्यमै चल्ने छ । शैक्षिक कार्यक्रम थप गुणस्तरीय र व्यवस्थित तुल्याउँदै तालिम कार्यक्रम पनि सबै स्थानीय तह र प्रदेशमा विस्तार गर्दै स्वरोजगार हुने प्राविधिक तालिमलाई प्रतिष्ठानले प्राथमिकतामा राख्ने जनाएको छ ।

नेपाली खानाको सङ्ग्रहालय बनाइँदै

मुलुकका ७७ जिल्ला, ७५३ स्थानीय तह र सातै प्रदेशका सबै जातजाति र भाषाभाषीका स्थानीय नेपाली खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ ।

काठमाडौँ उपत्यका भित्र नेपाली खानाको फुड बैंक वा सङ्ग्रहालय बनाउने सोच बनाएको प्रतिष्ठानले कोदोको खिरसमेत चखाउने छ । निकट भविष्यमै इ–लाइब्रेरी पनि सञ्चालन गर्दैछ । खाना बनाउने तालिमको व्यावहारिक अभ्यासका क्रममा उत्पादित खानाका परिकार सहुलियत मूल्यमा बेच्ने तयारी गरिरहेको छ ।

मौलिक कला र संस्कृति प्रवर्धन गरौँ

हाल प्रतिष्ठानमा करिब एक हजार ६०० को सङ्ख्यामा विद्यार्थी शैक्षिक तथा तालिम कार्यक्रममा सहभागी भइरहेका छन् । मुलुकको पर्यटकीय नगरी पोखरामा पर्यटन तालिम केन्द्र, सिन्धुपाल्चोकको बलेफीमा ¥याफ्टिङ स्कूल र नुवाकोटको ककनीमा टुरिजम रिसर्च सेन्टर स्थापना गर्ने कार्यमा सहयोग गरिदिन प्रतिष्ठानले संसद् र सरकारसँग आग्रह गरेको छ ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय समितिका सभापति पवित्रा निरौलाले कलेजले हरेक क्रियाकलाप र संरचना निर्माणमा अरुको नक्कल गर्ने नभई मुलुकको कला, संस्कृति, वेशभूषा र रहनसहनलाई प्रवद्र्धन गर्ने उद्देश्यबाट प्रेरित गर्ने खाले हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन मन्त्रालय मातहतको सुलभ शिक्षा प्रदान गर्दै आएको प्रतिष्ठान नमूना कलेज बनोस् र यसले शिक्षामा अझ राम्रो गुणस्तर कायम गरोस् ।”

प्रतिष्ठान पर्यटन तथा होटल व्यवस्थापनका क्षेत्रमा आवश्यक गुणस्तरीय जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको सूचीमा पहिलो रोजाइमा पर्दै आएको छ । प्रतिष्ठानले संस्थाको गुरुयोजना बनाउने विषयलाई अबको मुख्य कार्यभारमा राखेको छ ।

सार्क, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्षित गर्दै नाथम

समितिका सदस्य सुरेन्द्र कार्कीले नेपाल बहुजाति, भाषा र धर्म रहेको विविधतायुक्त देश भएकाले हरेक जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि प्रतिष्ठानले अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो ।

सरकारलाई प्राप्त हुने वैदेशिक अध्ययन छात्रवृत्तिमा संस्थालाई अवसर प्रदान गर्न, शाखा विस्तारका क्रममा जग्गा प्राप्तिमा सहजीकरण र पूर्वाधार निर्माण सहयोग पु¥याउन प्रतिष्ठानका तर्फबाट अनुरोध गरिएको छ ।

अत्याधुनिक सुविधासम्पन्न शैक्षिक इन्स्टिच्युट स्थापना गरी प्रतिष्ठानले पर्यटन र आतिथ्य क्षेत्रको अग्रणी संस्थाका रूपमा विकास गर्ने रणनीति योजना अघि सारेको छ । प्रतिष्ठानले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्ष्य गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने सोच बनाएको छ ।

प्रतिष्ठानले अध्ययनका क्रममा विद्यार्थीलाई मुलुकभित्र उपलब्ध हुने ‘हाइजेनिक र हेल्दी फुड’ बारेमा पनि शिक्षा प्रदान गर्न आवश्यक रहेको सदस्य कार्कीले जानकारी दिनुभयो ।

संस्थाको उन्नयन र श्रीवृद्धिका कार्यक्रम अघि बढाउने सिलसिलामा प्रतिष्ठानले संयुक्त राष्ट्रसङ्घ, विश्व श्रम सङ्गठन र एशियाली विकास बैंकसँग पनि साझेदारी गर्ने सोच बनाएको छ ।

संस्थालाई युग सुहाउँदो गतिशील तुल्याउन छरितो संरचनासहितको छुट्टै ऐन र गुरुयोजनाअनुरुपका पूर्वाधार निर्माण गर्न आवश्यक बजेटको पहलका लागि प्रतिष्ठानले सङ्घीय संसद्समक्ष आग्रह गरेको छ । रासस

IME Lifesidebar
kumari