stcnepal long ad
global ime bank long

एनएमबी र निर्धनले ल्याए साढे तीन अर्ब विदेशी ऋण,राष्ट्र बैंकमा अनुमति पर्खदै ग्लोबल आईएमई र मेगा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं ।बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव भएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशी मुद्रामा ऋण लिनसक्ने व्यवस्था गरेपनि अहिलेसम्म जम्मा दुई वटा बैंक तथा वित्तीय संस्थाले मात्र यस्तो ऋण लिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७६ कात्तिकसम्म एनएमबी बैंक र निर्धन उत्थान लघुवित्त संस्थाले जम्मा ३ अर्ब ५७ करोड रुपैयाँ विदेशी ऋण लिएका छन् भने राष्ट्र बैंकको अनुमतिको पर्खाइमा ग्लोबल आईएमई र मेगा बैंक छन् ।

राष्ट्र बैंकले नवीकरणीय ऊर्जाको उत्पादन तथा प्रशारण लाइन निर्माण, सडक, सुरङ मार्ग, विमानस्थल, केबलकार सहितका भौतिक पूर्वाधार, पर्यटन, कृषि तथा लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ ।

लघुवित्त संस्थाहरूले लघु उद्यम, व्यवसाय, पर्यटनदेखि आफ्नो कारोबार क्षेत्र भित्र पर्ने उद्यम, व्यवसाग, परियोजनादेखि अन्य उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्नका लागि विदेशबाट ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

विदेशी बैंक तथा वित्तीय संस्था, हेजिङ फन्ड, पेन्सन फन्ड सहितका स्रोतबाट परिवत्र्य विदेशी मुद्राका अलावा भारतीय मुद्रा (भारु)मा समेत ऋण लिन पाउने व्यवस्था छ, तर हालसम्म भारतीय मुद्रामा ऋण लिन नेपाली बैंक तथा वित्तीय संस्थाले कुनै पहल नै गरेका छैनन् ।

नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक सहित भारतीय संयुक्त लगानीका बैंकले सुरुमा यसप्रति चासो देखाएकै कारण राष्ट्र बैंकले भारुमा समेत ऋण लिन पाउने व्यवस्था गरेको थियो, तर भारतीय केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इन्डिया (आरबीआई)को संस्थागत ऋण प्रवाहसम्बन्धी कडा व्यवस्थाकै कारण भारुमा ऋण लिने प्रक्रिया नै अघि नबढेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार एनएमबी बैंकले एक पटक १५ लाख अमेरिकी डलर र दुई पटक पटक १ करोड ५० लाख गरी ३ करोड १५ लाख अमेरिकी डलर (करिब ३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ) विदेशी ऋण भित्र्याएको छ ।

एनएमबीले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र लक्जेम्बरको एमएसएमई बन्डबाट ६ महिनाको लिबोर तथा ४ प्रतिशतको ब्याजदरमा विदेशी ऋण लिएको हो ।

एनएमबीले कुल ४ करोड डलर (करिब ४ अर्ब ४० करोड रुपैयाँबराबर)को विदेशी ऋण भित्र्याउने गरी स्वीकृति लिएकोमा साढे ३ अर्ब रुपैयाँबराबरमात्र भित्र्याउन सकेको हो ।

यस्तै, निर्धन उत्थानले ८१ हजार ८०५ अमेरिकी डलर (करिब ९० लाख रुपैयाँ) विदेशी ऋण भित्र्याएको छ । निर्धनले १ करोड ६ लाख ६ हजार अमेरिकी डलरबराबर नेपाली मुद्रामा विदेशी ऋण भित्र्याउने अनुमति लिएको थियो ।

निर्धन उत्थानले लघुवित्तको क्षेत्रमा काम गर्दै आइरहेको छ । लघुवित्तकै क्षेत्रमा थोक ऋण प्रवाह गर्ने आरएमडीसीले पनि १ करोड अमेरिकी डलर र अर्को लघुवित्त संस्था मानुषि लघुवित्तले १ करोड १० लाख जापानी युआनमा ऋण भित्र्याउने अनुमति लिएका भए पनि अझैसम्म ऋण ल्याएका छैनन् ।

ग्लोबल आईएमई बैंकले आईएफसीबाट २ करोड अमेरिकी डलर (करिब सवा २ अर्ब रुपैयाँ) ऋण लिने गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएको छ, उसले गत साउनमै विदेशी ऋणका स्वीकृति लिएको भए पनि हालसम्म नभित्र्याएको राष्ट्र बैंक विदेशी विनिमय विभागले जानकारी दिएको छ ।

यस्तै हालैमात्र मेगा बैंकले कतारको दोहास्थित दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब सवा २ अर्ब रुपैयाँ) ऋण लिने गरी सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

‘नेपाली बैंकिङ क्षेत्रमा देखिएको तरलता संकट सम्बोधन गर्नका लागि विदेशी बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रबाट ऋण लिन पाउने व्यवस्था गरिएको हो, तर यसमा निकै कम बैंकहरूको मात्र चासो देखिएको छ,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने ।

हालसम्म प्रक्रियामा रहेका सबैले विदेशी ऋण भित्र्याउने हो भने करिब १५ अर्ब रुपैयाँबराबरको पुँजी नेपाली वित्तीय प्रणालीमा प्रवाह हुने उनी बताउँछन् ।

IME Lifesidebar
kumari