जोरपाटीको तरकारी बजारमा मेगा बैंकले शुरु गर्यो क्यूआर कोड सेवा
काठमाडौं । मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड भुक्तानी सेवाको औपचारिक शुभारम्भ गरे ।
कार्यक्रममा ८० जना तरकारी विक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो । कार्यक्रममा कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेको बताए । उनले डिजिटल भुक्तानीको व्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको बताए ।
मेगा बैंककी सीईओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई प्राथमिकता दिइरहेको बताइन् ।
उनले क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, विक्रेता तथा खरीदकर्ता सबैलाई बैंकिङ प्रणालीमा जोडिनु पर्ने भएकोले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने बताइन् ।
कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्मा, प्रमुख लियाब्लिटी अफिसर जेनु थापा, प्रमुख कार्ड तथा वैकल्पिक च्यानल विभाग प्रमुख विश्व सिंह, जोरपाटी शाखाका प्रबन्धक कृष्ण श्रेष्ठ तथा एफ वान सफ्टका ग्रूप चिफ अपरेटिङ अफिसर शिशिर पछाईं लगायतको सहभागिता थियो ।























