stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

यही गतिमा काम हुँदा अबको एक महिनामा सम्पन्न गर्न सकिने डिभिजन प्रमुख कुवेर नेपालीले बताउनुभयो । उहाँका अनुसार अर्को दिशामा भने एउटा घरका कारण निर्माणमा ढिलाइ भएको छ ।

घरधनीले मुआब्जा रकममा उपभोग क्षेत्रका आधारमा माग गरेका छन् । त्यो घरबाहेक अन्यत्र काम गर्न समस्या नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो घरको पनि सहमति भएपछि दुई महिनासम्ममा सकिनेछ ।”

यो सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ । सडक कार्यालयले निर्माण शुरु गर्नुभन्दा पहिले सडकका दुवै तर्फको निर्माणस्थल खाली गरेको थियो ।

देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको छ । यहाँ भने सडकका संरचना हटिसकेपछि ठेक्का सम्झौता गरिएको थियो । कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तर तर्फ) एक लेन र दाहिने (दक्षिण तर्फ) दुई लेन थप्ने गरी निर्माणस्थल खाली भइरहेको छ ।

विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ । बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो ।

सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्रीसहितको पैदल यात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ । त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोला तर्फ जान रोकिने छैनन् ।

चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने रोकिनुपर्ने छैन । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना रहेको डिभिजनले जनाएको छ ।

यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारी चालक हैरान थिए । तीनकुनेबाट कौशलटारसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो ।

अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीन रुपमा यसको समाधान ‘फ्लाई ओभर’ भएको सडक विभागले बताउँदै आएको छ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माण गर्न अध्ययन गरिसकेको छ । रासस

IME Lifesidebar
kumari