citizens life insurance long ad
stcnepal long ad

आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहोर उठ्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहोर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको थियो ।

लामो समयको अवरोधपछि आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहितको छलफलमा पीडित पक्षको माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खुला गर्न उहाँहरु सहमत हुनुभएको हो । प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताउनुभयो ।

स्वास्थ्यसम्बन्धीका बुँदामा थप छलफल गरी अघि बढ्न सकिने उहाँको भनाइ थियो । प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौँको अस्पतालमार्फत सेवा उपलब्ध गराउने त्यो विषयमा प्रष्ट धारण बनाएर आउन प्रमुख शाक्यले आग्रह गर्नुभयो ।
धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गर्नुभयो । छलफलमा सहभागी ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईँले आफूहरुको माग पूरा भएपछि फोहोर विसर्जनको अवरोध हटेको जानकारी दिनुभयो ।

“प्रभावित क्षेत्रका ५१ शिक्षकको अस्थायी दरबन्दीका लागि महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने लगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको छ,” बजगाईँले भन्नुभयो, “अब आजैबाट फोहोर उठ्छ ।”

विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर उक्त स्थानमा व्यवस्थापन हुँदै आएको छ । सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापन स्थल निर्माण गरिरहेको भए पनि निर्माणकार्य पूरा नहुँदा पटकपटक समस्या आइरहेको छ । रासस

IME Life
kumari