नेपाल लाइफ इन्स्योरेन्सको जीवन बिमा कोषमा १ खर्ब, खुद बिमा शुल्क २२.८३% वृद्धि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.४७% बढाउन सफल भएको छ । गत वर्ष ३५ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले यो त्रैमासमा बढाएर ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीले खुद बिमा शुल्क पनि २२.८३% ले बढाएर १७ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।
गत वर्ष यसले १३ अर्ब ९१ करोड रुपैयाँमात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । यसअवधिमा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बिमा कोषको आकार ३०.५३% ले बढेर १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसको जीवन बिमा कोषमा ७७ अर्ब ५९ करोड रुपैयाँ थियो । हाल नेपाल लाइफको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ५ करोड ३४ लाख रुपैयाँ जम्मा भएको छ ।
यसले महाविपत्ति कोषमा लागि ५९ करोड ८९ लाख रुपैयाँ राखेको छ । पुस मसान्तसम्म यस इन्स्योरेन्सले ५ अर्ब २४ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । १ अर्ब २९ करोड ४० लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको नेपाल लाइफको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा छ ।























