च्याम्पियन्स लिग स् भेरेन्कभारोसमाथि युभेन्टसको कठिन जित
एजेन्सी । खेलको अन्तिम समयमा गोलरक्षकले गल्ती गरेपछि युईएफए च्यामपियंस लीग अन्तर्गत युभेन्टसले भेरेन्कभारोसलाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्टसले भेरेन्कभारोसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र अलभारो मोराटाले १(१ गोल गरेका थिए ।
खेलको १९ औं मिनेटमा पाहुना टोली फेरेन्कभारोसले अग्रता लिएको थियो । मिरोत उजुनीले गोल गर्दै भेरेन्कभारोसलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमा बराबरी गर्यो ।
अन्तिम समयमा गोलरक्षक डेनेस डिबुस्जले गम्भीर गल्ति गर्दा युभेन्टस जित हासिल गर्न सफल भयो । जुआन क्वाडराडोको क्रसमा अल्भारो मोराटाको फितलो हेडर गोलरक्षक डिबुस्जको खुट्टामुनिबाट गोलमा परिणत भएको थियो ।
यो जीतपछि युभेन्टस ४ खेलमा ९ अंक बटुल्दै समूह जी मा दोस्रो स्थानमा रहेको छ । यस समूहमा बार्सिलोना ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । अब समूह चरणका दुई खेल बाँकी हुदा यस समूहबाट बार्सिलोना र युभेन्टस अन्तिम १६ मा पुग्ने निश्चित भएको छ ।

























