citizens life insurance long ad
stcnepal long ad

खाद्यको चिनी ल्याउन टेन्डरै परेन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चिनीको अधिक माग हुने तिहारमा पनि सरकारले सहुलियतमा ल्याउने भनेको चिनी आएन । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दशैँ, तिहारमा ल्याउने भनेको भन्सार छुटको चिनी आउन अझै समय लाग्ने भएको छ । कम्पनीले गरेको पहिलो टेन्डरमा कोही पनि व्यापारी इच्छुक नभएपछि अर्को टेन्डर गर्दा समय लाग्ने भएको हो ।

सरकारले दशैँ, तिहार र छठलाई लक्षित गरेर ३० हजार मेट्रिक टन चिनी खरिद गर्न खाद्य कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ५० प्रतिशत भन्सार छुट दिएको थियो । खाद्य कम्पनीलाई चिनी खरिद गर्नका लागि सरकारले पहिलो पटक कोटा निर्धारण गरेको हो तर पहिलो पटक नै असफल हुने देखिएको छ ।

कम्पनीको खरिद सम्बन्धी आफ्नो ऐन, नियमावली नभएको र सरकारको सार्वजनिक खरिद ऐन अनुसार खरिद प्रक्रिया जाँदा लामो प्रक्रियामा जाँदा समय लाग्ने बताइएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीले चिनी खरिदका लागि पहिलो पटक आह्वान गरिएको टेन्डरमा एउटै पनि आवेदन नपरेकाले तिहार र छठमा पनि खाद्य कम्पनीको चिनी आउन नसक्ने निश्चित भएको बताउनुभयो ।

कम्पनीले अब पुनः टेन्डर कस्तो तरिका, के कसरी गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको र अहिलेसम्म टुङ्गो नलागेको उहाँले जानकारी दिनुभयो ।

सामान्य अवस्थामा चिनी खरिदका लागि कम्तीमा पनि तीन महिना लाग्ने भएकाले खाद्य कम्पनीले तत्काल आफ्नो चिनी बिक्री गर्न नसक्ने उहाँको भनाइ छ । सुवेदीका अनुसार कम्पनीले उपत्यकामा सञ्चालित सहुलियत मूल्य पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनको चिनी किनेर सहुलियत मूल्यमा बिक्री गर्दै आएको छ ।

सूचना अधिकारी सुवेदीेले कम्पनीले अर्को टेन्डर मार्फत चिनी खरिद गर्न सामान्य प्रक्रियामा पनि कम्तीमा तीन महिना लाग्ने बताउनुभयो ।

सरकारले गत साउन १२ गते नै ५० प्रतिशत भन्सार छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार मेट्रिक टन र साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको थियो । सरकारले दिएको सो स्वीकृति अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत चिनी ल्याएर बिक्री गर्न थालेको छ ।

सरकारको सार्वजनिक खरिद ऐन अनुसार ४५ दिनको सूचना प्रकाशन गरी टेन्डरको मूल्याङ्कन, एलसी लगायत प्रक्रिया गर्दा छिटोमा तीन महिना समय लाग्ने भएको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनले भन्सार छुटमा २० हजार मेट्रिक टन चिनी ल्याउने जिम्मा पाएकामा झन्डै १० हजार मेट्रिक टन ल्याइसकेको छ । सरकारी कोटाको चिनी बिस्तारै ल्याउने क्रममा रहेको र एक महिनामा सबै चिनी नेपाल आइपुग्ने कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले जानकारी दिनुभयो ।

सरकारी तथ्याङ्क अनुसार सामान्य अवस्थामा घरायसी र उद्योग गरी मासिक २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । दशैँ, तिहार र छठका लागि दुई महिना थप १० हजार मेट्रिक टन चाहिन्छ ।

सहुलियत भन्सार छुटमा आयात गरेको साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ७३ रुपियाँमा बिक्री गर्दै आएको छ । बजारमा भने अहिले चिनी प्रतिकेजी खुद्रा मूल्य ९० देखि ९५ रुपियाँमा बिक्री भइरहेको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले बजारमा केही दिनदेखि चिनीको भाउ मनपरी भएको बताउनुभयो । श्रेष्ठका अनुसार अहिले निजी व्यापारीले थोक बजारमा चिनीको प्रतिकेजीको भाउ ८३ देखि ८५ रुपियाँ पु¥याएका छन् । खुद्रा बजारमा चिनीको भाउ ९० रुपियाँ भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेका छन ।

IME Life
kumari