ट्राफिक प्रहरीको ध्यान केन्द्रीत काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा
काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्व लक्षित भीडभाड बढ्ने अनुमान सहित ट्राफिक प्रहरीले मुख्य व्यापारिक केन्द्रहरुमा ध्यान केन्द्रीत गरेको छ ।
कालीमाटी, सुन्धारा, न्युरोड, बल्खु, कलंकी, इन्द्रचोक, भोटाहिटी, पुरानो बानेश्वर, कोटेश्वर, लगनखेल लगायत क्षेत्रमा किनमेल गर्नेहरुको भीड बढेको छ ।
तिहारका लागि आवश्यक पर्ने सामग्री किनमेल गर्नेको संख्या धेरै रहेकाले चाडपर्व सुरक्षा योजनाअनुसार उच्च सतर्कता अपनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यस्तै सुरक्षालाई थप मजबुत बनाउन ७ सय ३९ जना जनशक्ति थप गरिएको पनि महाशाखाका प्रमुख एवं एसएसपी भीम ढकालले जानकारी दिनुभयो ।
यस्तै काठमाण्डौबाट बाहिर जानेको संख्या बढेसँगै बसपार्क र भीडभाड हुने ठाउँहरुमा जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौबाट २८ हजार ८ सय ४१ जना व्यक्ति बाहिरिएका छन् भने २५ हजार ४ सय ४१ जना भित्रिएका छन् ।
यस्तै द्रूत गतिमा गाडी चलाउने, ठूलो हर्न बजाउने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने र नम्बर प्लेट नबुझिने गाडीहरुलाई पनि कारबाही गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले नम्बर प्लेट नबुझिने गाडीहरुलाई जरिबाना गर्दै नयाँ नम्बर प्लेट तत्काल राखेर मात्रै छाड्ने गरेको पनि जनाएको छ ।























