सूर्या लाइफको लाभांश प्रस्ताव, ५ % बोनस र ५.५३ % नगद
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ५% बोनस शेयर र कर प्रयोजन समेत ५ दशमलव ५३% नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सको कात्तिक २५ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १५ करोड ५१ लाख ३७ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
यस कम्पनीले कात्तिक २६ गते चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीले रू. १० करोड १६ लाख १० हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा रू. ७ करोड ९७ लाख ९३ हजार रहेको थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफामा बृद्धि भएको छ । पहिलो त्रैमाससम्म कम्पनीले रू..८५ करोड ४ लाख १५ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिसम्म कम्पनीमा २ लाख ५५ हजार २२७ बीमालेख कायम भएको छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ८६ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ७८ रहेको छ ।






















