कोरोना बीमाको दावी भुक्तानी अस्पतालको बिलमा मिलान गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुलाई एक निर्देशन जारी गर्दै कोरोना बीमाको दावी भुक्तानी अस्पतालको बिलसँग मिलान गर्न निर्देशन दिएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषदको २०७६ असोज १९ गते बसेको बैठकबाट स्वीकृत गरेको ‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७’ बमोजिम कोरोना बीमितले पाउने दावी भुक्तानी निजको अस्पतालमा उपचार बापत कुनै खर्च लागेको भए सो अस्पतालको बिल भुक्तानी गरी बाँकी रहेको रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।
नयाँ व्यवस्था अनुसार कोरोना बीमित अस्पताल भर्ना भई उपचार खर्च लागेको भए, सो को बिल बमोजिम अधिकतम एक लाख रुपैयाँसम्म, सिधैं अस्पतालमा भुक्तानी वा बीमितले अस्पतालमा भुक्तानी गरी बिल पेश गरेमा बीमितलाई कोरोना बीमा बापतको रकम भुक्तानी गर्न भनिएको छ ।

























