citizens life insurance long ad
stcnepal long ad

वाग्मतीमा विद्युतीय सवारी साधनका लागि चार्जिङ सेन्टर निर्माणको प्रक्रिया सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

हेटौंडा ।  प्रदेश सरकार वाग्मतीले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ सेन्टर निर्माणका लागि प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।

यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र वातावरण मैत्री बनाउन निजी साझेदारी माध्यमबाट विद्युतीय यातायात प्रणाली सञ्चालन गरी आगामी २०८५ सालभित्र प्रदेशका ठूला शहरबाट पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गर्ने गरी काम शुरु गरिएको मन्त्री फुयाँलले बताए ।

मन्त्री फुयाँलले चार्जिङ सेन्टर राख्न इच्छुक स्थानीय तहलाई १५ दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्दै सूचना जारी गरिएको जानकारी दिए । मूल सडकसँग जोडिएको कम्तीमा तीन रोपनी जग्गा उपलब्ध भए अध्ययन गरेर उपयुक्तता र आवश्यकताका आधारमा सेन्टर निर्माण गरिने उनको भनाइ छ ।

मन्त्री फुयाँलले सरकारले प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रममा नै ८५ सालसम्म नवीकरणीय ऊर्जालाई प्राथमिकता दिँदै पेट्रोलियम सवारी विस्थापन गर्ने लक्ष्य प्रस्तुत गरिएकाले सरकारले उक्त लक्ष्य पूरा गर्ने गरी काम अगाडि बढाएको बताए । उनले सरकारले चाँडै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने जानकारी दिए ।

पहिलो चरणमा सरकारले धुलिखेलबाट बनेपा, काठमाडौँ, धादिङ, चितवन, हेटौँडा, सिन्धुली हुँदै धुलिखेलका रुटमा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको बताइएको छ । प्रदेशलाई हरित र वातवरणमैत्री प्रदेशका रुपमा निर्माण गरिने योजनानुसार काम गरिने उनको भनाइ थियो । रासस

IME Life
kumari