citizens life insurance long ad
stcnepal long ad

श्रमिक आपूर्तिकर्तालाई रोजगारदाताका रूपमा कोषमा सूचीकृत हुन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। सामाजिक सुरक्षा कोषले सार्वजनिक खरिद प्रक्रियामा संलग्न सम्पूर्ण रोजगारदाता तथा श्रमिक आपूर्तिकर्तालाई रोजगारदाताका रूपमा कोषमा सूचीकृत हुन आग्रह गरेको छ ।

सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ बमोजिम सार्वजनिक खरिदका क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्ने व्यवस्थाबमोजिम कोषले सबै रोजगारदातालाई सूचीकृत हुन आग्रह गरेको हो ।

कार्यविधिमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आफू अन्तर्गत कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र नियमित योगदान रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोषका अनुसार सार्वजनिक खरिद अन्तर्गतका निर्माण कार्य, मालसामान आपूर्ति, परामर्श सेवा तथा अन्य सेवा खरिदमा संलग्न श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता, नियमित योगदान सङ्कलन र पारिश्रमिक भुक्तानीको सुनिश्चितता हुनुपर्ने व्यवस्था छ ।

यस व्यवस्थाले श्रमिकको सामाजिक सुरक्षाको हक प्रत्याभूति हुनुका साथै खरिद सम्झौता कार्यान्वयन, भुक्तानी प्रक्रियालाई समेत सहज, पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

कोषले सम्बन्धित सार्वजनिक निकाय तथा रोजगारदातासँग आवश्यक समन्वय गरी तथ्याङ्क प्रमाणीकरण, सुरक्षित सूचना आदानप्रदान र प्रणालीगत अन्तरआबद्धता सहजीकरण गर्ने जनाएको छ । यसरी तथ्याङ्क आदानप्रदान र प्रमाणीकरण गर्दा श्रमिकको व्यक्तिगत विवरणको गोपनीयता तथा प्रचलित कानुनबमोजिम तथ्याङ्कको पूर्ण सुरक्षा सुनिश्चित गरिने कोषले स्पष्ट पारेको छ ।

कोषका उपकार्यकारी निर्देशक तथा प्रवक्ता कृष्ण अधिकारीले रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ताको सक्रिय सहभागितामा सार्वजनिक खरिद प्रक्रियालाई श्रमिकको उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्न कोष प्रतिबद्ध रहेको बताउनुुभयो ।

उहाँले सङ्घीय, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकाय, सार्वजनिक संस्थानका साथै सार्वजनिक खरिदमा संलग्न रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई कोषमा आबद्ध भई कार्यविधिबमोजिमका व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न र गराउन आग्रह गर्नुभयो ।

IME Life
kumari