तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ ।
प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को पर्याप्त उपलब्ध गराउने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले तिहारको लक्ष्मीपूजाको दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताउनुभएको छ ।
सो अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ । उहाँले आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज बनाउन पर्याप्त विद्युत् उपलब्ध हुने दाबी गर्नुभयो ।
प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारीसमेत गरेको जनाएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । विद्युत् आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न उहाँले निर्देशन दिनुभएको छ ।
त्यसैगरी, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गरी विद्युत् आपूर्तिमा हुन सक्ने सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिइएको छ ।
विद्युत् आपूर्ति सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ ।























