जलविद्युत् र निर्जीवन बिमा दबाबमा
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीले नेपालको सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेको र निर्जीवन बिमा कम्पनीमाथि ठुलो दाबीको दबाब आउन सक्ने आकलनसँगै लगानीकर्ता हाइड्रो र बिमा कम्पनीको सेयरबाट पछि हटेका छन् ।
सोमबार सेयर बजार सूचक ४३.८९ अङ्कले घटेर २५१३ अङ्कमा झरेको छ । सोमबार जलविद्युत् उपसमूह २.९४ प्रतिशत र निर्जीवन बिमा सर्वाधिक ५.०३ प्रतिशतले घटेको छ । बाढीपछिको पहिलो प्रभावित कारोबारमा नेप्से ३५.९२ अङ्कले घटेर २,५५८.३५ विन्दुमा झरेको थियो । जलविद्युत् उपसमूह २.८४ प्रतिशत र निर्जीवन बिमा ३.९० प्रतिशतले घटेका थिए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका अनुसार सञ्चालनमा रहेका १० र निर्माणाधीन पाँच जलविद्युत् आयोजनामा प्रारम्भिक रूपमा क्षति पुगेको छ । यसले उत्पादन अवरुद्ध हुने, पुनर्निर्माण लागत बढ्ने र आयोजनाको आम्दानी प्रभावित हुने आशङ्का बढाएको हो ।
बजार विश्लेषणमा अहिलेको गिरावटलाई दीर्घकालीन सङ्कटभन्दा बढी तत्कालीन मनोवैज्ञानिक प्रतिक्रियाका रूपमा हेरिएको लगानीकर्ता ईश्वरी पौडेलले बताउनुभयो । वास्तविक क्षति, बिमा भुक्तानी र आयोजना पुनः सञ्चालन हुने समय स्पष्ट भएपछि प्रभावित कम्पनीको मूल्याङ्कन पनि फरक हुन सक्ने उहाँको भनाइ छ ।
साताको पहिलो दिन नेप्से ४३.८९ अङ्कले घटेर २५१३.४२ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.६८ अङ्क घटेर ४४४.४३ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा पहिलो दिनको नेप्से १.७१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले घटेको छ ।
सोमबार ३४७ कम्पनीको ९३ लाख २२ हजार १८५ कित्ता सेयर ६८ हजार १३७ पटक खरिदबिक्री हुँदा तीन अर्ब ६४ करोड ८६ लाख नौ हजार ८७८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबार शिवम् सिमेन्ट २६ करोड ३८ लाख ७८ हजार ८८२ रुपियाँ बराबरको सेयर कारोबार भएर सर्वाधिक सेयर कारोबार भएको छ । सोमबार कारोबारमा आएका १३ वटामध्ये उत्पादन तथा प्रशोधनबाहेक बाँकी १२ उपसमूहको परिसूचक ओरालो लागेको छ ।























