थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी
काठमाडौं। नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष फुर गेल्जे शेर्पाले यस्तो जानकारी दिएका हुन्।
अध्यक्ष शेर्पालेले थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनकाअनुसार यो प्रक्रिया सफल भए आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्नेछ।
जसमध्ये आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमै हुने उनको भनाइ छ। उनले नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यसमा सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा सरोकारवालाको संयुक्त योगदान रहेको रहेको समेत बताए।
अध्यक्ष शेर्पाले सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउँदै नेपाल पर्वतारोहण संघ स्थापनाकालदेखि नै देशको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय रहेको बताए। नेपाल सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्न समेत नेपाल पर्वतारोहण संघको भुमिका रहेको उनले बताए।
उनले भने, ‘अहिले एक सय वटा हिमालको प्रश्तावना हामीले तयार पारिरहेका छौँ। त्यति मात्र नभएर अहिले हामी ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल रहेकोमा हामीले यसपटक थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय रिकजनाइजेशनको लागि काम गरिरहेका छौँ। यससँगै आठ हजारभन्दा बढी २० वटा हिमाल हुनेछन्।
यो कार्य सफल भएको खण्डमा आठ हजार मिटरभन्दा ठूला १४ वटा हिमाल नेपालमै हुनेछन्। यो कार्य अन्तिम चरणमा पुगेको छ, यसको डकुमेन्टेसनको काम भइरहेको छ।’
यसअघि पर्यटन विभागले आफ्नो पिक–प्रोफाइलमा थप्दै ल्होत्से सार (८,४०० मिटर) र ल्होत्से सेन्टर (८,४१० मिटर)लाई आधिकारिक मान्यता दिइसकेको छ।
साथै ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखर पहिचान भएका छन्। जसमा कञ्चनजंगा सेन्टर (८,४७३ मिटर), कञ्चनजंगा साउथ (८,४७६ मिटर), यालुङखाङ (८,५०५ मिटर) र यालुङखाङ वेस्ट (८,०७७ मिटर) रहेका छन्।






















