stcnepal long ad
global ime bank long

राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा मात्र समस्या

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा मात्र समस्या रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रस्ट पारेको छ । विभागका महानिर्देशक कृष्ण पौडेलले समस्या प्रस्ट्याउँदै भन्नुभयो, “समस्या भनेको विवरण दर्ता गरिसकेपछि व्यक्तिको राष्ट्रिय परिचयपत्रको नम्बर हुन्छ र त्यो नम्बर र वैयक्तिक विवरण हामीसँग अन्तरआबद्ध भएको अर्को निकायले अनलाइन प्रणालीबाटै हेर्न नसक्ने देखिएकाले हो ।”

त्यो समाधान गर्न राष्ट्रिय परिचयपत्रसँग जति सेवा अन्तरआबद्ध भएका छन्, सबै निकायसँग समन्वय गरेर समाधान गरिरहेको महानिर्देशक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राहदानी विभागको हकमा दुई सिफ्टमा १२ जना कर्मचारीसहितको डेस्क खडा गरेर हातैले प्रमाणीकरण गरिदिने व्यवस्था गरिएको छ ।

त्यहाँ अत्यधिक भिड भएपछि परिचयपत्र दिने र राहदानी दिने दुवै निकायसमक्ष आमनागरिकले गुनासो व्यक्त गरेका थिए । त्यसमा नम्बर नपाएकोभन्दा इपिएस आवेदनको चटारोमा एकैचोटि सेवाग्राहीको भेरिफिकेसनमा समस्या भएपछि सेवाग्राहीमा निराशा देखिएको अनुमान उहाँको छ ।

महानिर्देशक पौडेलका अनुसार व्यक्तिगत विवरण जिल्ला प्रशासन कार्यालय, नारायणहिटीको कार्यालयलगायतमा दर्ता भइरहेको छ तर अनलाइन प्रणालीबाटै हेरेर राष्ट्रिय परिचयपत्र लिएको व्यक्ति उही हो कि होइन भनेर पहिचान गर्ने सवालमा समस्या देखिएपछि गुनासो बढेको हो ।

समस्या समाधान गर्न सफ्टवेयर विकास गर्ने कम्पनीसँग समन्वयमा रहेर प्रयास गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । महानिर्देशक पौडेलले भन्नुभयो, “उहाँहरूले अनलाइन प्रणालीमा देखिएको समस्या समाधानका लागि हाम्रो आइटी टिमसँगको समन्वयमा मर्मतसम्भारको काम गरिरहनुभएको छ ।”

महानिर्देशक पौडेलका अनुसार यो नयाँ किसिमको समस्या हो । उहाँले व्यक्तिको बायोमेट्रिक भेरिफिकेसन गर्दा अन्य एकीकृत निकायले हेर्न नसक्ने समस्या नेपालका लागि नौलो रहेको दाबी गर्नुभयो । जिल्ला प्रशासनबाटै पनि हेर्न नसकिने अवस्था आएपछि पछिल्लो समय राहदानी लिने सेवाग्राहीको हकमा पनि त्यहीँ कर्मचारी खटाएर सहजीकरण गरिदिएको उहाँको भनाइ थियो ।

पौडेलले सुनाउनुभयो, “छपाइ गर्ने एउटा मेसिन बिग्रेकोमा त्यो मर्मतका लागि प्रक्रिया सुरु गरिसकेका छौँ, अहिले पहिले जस्तो नभए पनि दैनिक तीन हजारको दरमा परिचयपत्र छपाइ भइरहेको छ ।” दुई/तीन महिनाअघि भने केही समय सबै सेवा अवरुद्ध भएको तर अहिले आंशिक मात्र अवरुद्ध रहेको पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्रसँग एकीकृत आबद्धता भएका निकायलाई परिपत्र गरेर अहिले प्रमाणीकरणका आधारमा सेवा दिन अनुरोध गरिएको पनि उहाँले प्रस्ट पार्नुभयो । जस अनुसार राहदानी विभाग, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, कम्पनी रजिस्ट्रारको कार्यालय, सूचना प्रविधि विभाग, बागमती प्रदेश, नेपाल राष्ट्र बैङ्क/कर्जा सूचना केन्द्र, निवृत्तिभरण व्यवस्थापन कार्यालय, आन्तरिक राजस्व विभाग, वैदेशिक रोजगार विभाग, निर्वाचन आयोग, राष्ट्रिय किताबखाना (निजामती), गृह मन्त्रालय रहेका छन् ।

महानिर्देशक पौडेलका अनुसार हालसम्म दुई करोड नेपालीलाई परिचयपत्र नम्बर प्रदान गरी ८० लाख थान परिचयपत्र छापिएको छ । जसमध्ये ४५ लाख थान वितरण भइसकेको छ । अरू वितरण बाँकी छ । अझै परिचयपत्र छपाइ गर्न मिल्ने ४० लाख थान कार्ड छ । क्षमता उच्च हुनेबित्तिकै दैनिक १५ हजार थानका दरले परिचयपत्र छपाइ हुने उहाँले जानकारी दिनुभयो ।

IME Lifesidebar
kumari