stcnepal long ad
ime life insurance
global ime bank long

काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ ।

यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले धोबीखोला, गुह्येश्वरी र कोड्कुलगायतका क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी तथा एसियाली विकास बैङ्क (एडीबी) का प्रतिनिधिले गुह्येश्वरी र धोबीखोलामा निर्माण भएका प्रशोधन केन्द्रको संयुक्त अनुगमन तथा निरीक्षण गर्नु भएको छ । गुहेश्वरी फोहरपानी प्रसोधन केन्द्र प्रतिदिन तीन करोड २५ लाख लिटर फोहर पानी प्रसोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको जनाइएको छ ।

अनुगमन टोलीमा पूर्वाधार विकास सचिव विश्वबाबु पुडासैनी, पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठ, एडीबीका नेपाल देशीय सञ्चालन प्रमुख अर्नाउड हेकम्यान तथा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मालगायत सहभागी रहनु भएको थियो । अनुगमन निरीक्षणका क्रममा सचिव पुडासैनीले निर्माण सम्पन्न भइसकेका प्रशोधन केन्द्रलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँका केही क्षेत्रमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र अब चाँडै सञ्चालनमा ल्याउन आवश्यक छ ।” त्यसैगरी, पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले धोबीघाट र गुह्येश्वरीमा निर्माण गरिएका प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँका नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिमबाट जोगाउन एडीबीको सहयोगमा यी प्रशोधन केन्द्र निर्माण गरिएको हो । केही आयोजना सम्पन्न भइसकेका छन् र अब चाँडै सञ्चालनमा ल्याइनेछ ।”

यी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमती तथा यसका सहायक नदीमा प्रत्यक्ष रूपमा मिसिने फोहोरपानीको मात्रा घट्ने, नदीको पानीको गुणस्तर सुधार हुने तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

prabhu mahalaxmi
kumari