भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा खाना पकाउने एलपी ग्यास सिलिन्डरको मूल्यमा फेरि वृद्धि गरिएको छ । शनिबार रातिदेखि लागू हुने गरी १४.२ किलोग्रामको घरेलु ग्यास सिलिन्डरमा २९ भारतीय रूपैयाँ मूल्य बढाइएको हो ।
नयाँ मूल्य अनुसार आइतबारदेखि दिल्लीमा १४।२ किलोग्रामको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९४२ भारतीय रूपैयाँ पुगेको छ । पछिल्ला तीन महिनाभित्र घरेलु ग्यासको मूल्य दोस्रो पटक बढाइएको हो । यसअघि गत मार्च ७ मा प्रति सिलिन्डर ६० रूपैयाँ वृद्धि गरिएको थियो ।
मूल्यवृद्धिपछि विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले केन्द्र सरकारको आलोचना गरेको छ । कांग्रेसले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि महँगी बढाएको आरोप लगाएको छ ।
कांग्रेस सांसद मनीष तिवारीले पनि ग्यासको मूल्य बढाइएको विषयमा प्रश्न उठाएका छन् । उनले तेल विपणन कम्पनीहरूले ठूलो नाफा कमाइरहेका बेला एलपीजीको मूल्य पटक–पटक किन बढाइँदैछ भन्ने प्रश्न गरेका छन् ।
तिवारीका अनुसार सरकारी स्वामित्वका तीन प्रमुख तेल विपणन कम्पनीहरूले आर्थिक वर्ष २०२५–२६ मा कूल ७७ हजार २८० करोड ६५ लाख भारतीय रूपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३० प्रतिशत बढी हो ।





























