राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच नेपाल पे कार्डसम्बन्धी सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच‘ ‘नेपाल पे कार्ड’ कार्यान्वयन गर्ने सम्झौता हुँदै ।
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस अन्तर्गत ‘नेपाल पे कार्ड’ कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच दुई संस्थाबीच सम्झौता–पत्र आदानप्रदान गरिएको हो ।
उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौता पश्चात् राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेपाल क्लियरिङ हाउस मार्फत उपलब्ध हुने राष्ट्रिय कार्ड स्वीच र स्वदेशी कार्ड योजना (नेपाल पे कार्ड) को प्रमुख सदस्य बनेको छ ।
बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार यस सहकार्य मार्फत बैंकका ग्राहकले निकट भविष्यमा नेपाल पे कार्डसँग सम्बन्धित सेवाहरू उपभोग गर्न पाउनेछन् ।
सम्झौता–पत्र आदानप्रदान कार्यक्रममा नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड व्यवसाय प्रमुख पबिन्द्र राजभण्डारी र कार्ड सञ्चालन प्रमुख प्रविन आचार्यको उपस्थिति रहेको थियो ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उप-कार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख गगन सिंह घिमिरे, विभागीय उपप्रमुख हेमन्त जिसी, प्रबन्धक राजेश कुमार मोक्तान र उपप्रबन्धक समिरा आचार्य लगायत अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१४ वटा शाखा कार्यालय, ७१ वटा विस्तारित काउन्टर, ३३२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ मार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई विभिन्न किसिमका कर्जा र निक्षेपसहित आधुनिक डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ । यस नयाँ सम्झौताले मुलुकको डिजिटल भुक्तानी प्रणालीलाई थप सबल बनाउने विश्वास गरिएको छ ।

























