तीन करोडसम्मको एसएमई कर्जामा जोखिम भार घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै एमएमई क्षेत्रमा जाने कर्जाको जोखिम भार घटाएको हो ।
उक्त निर्देशनअनुसार अब कृषि, सूचना प्रविधि वा उत्पादनमूलक उद्योगसँग सम्बन्धित एसएमईले प्राप्त गर्ने ३ करोड रुपैयाँसम्मको कर्जामा मात्र ६० प्रतिशत जोखिम भार कायम हुने व्यवस्था गरिएको छ । यसअघि यस्तो विशिष्ट व्यवस्था नरहेकोमा नयाँ नीतिले विशेष गरी साना लगानीकर्ता र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ ।
राष्ट्र बैंकको क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ र २००७ दुवैमा संशोधन गरी यो नयाँ बुँदा थप गरिएको छ । यो सुविधा प्राप्त गर्नका लागि केही निश्चित सर्तहरू पूरा हुनुपर्ने प्रावधान राखिएको छ ।
यसअन्तर्गत सम्बन्धित कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट प्रत्याभूत भएको हुनुपर्ने वा घर–जग्गा धितोको हकमा फेयर मार्केट भ्यालुमा कम्तीमा २५ प्रतिशतको मार्जिन सुरक्षित हुनुपर्नेछ । साथै, उक्त कर्जा अनिवार्य रूपमा आयोजना बीमाअन्तर्गत समेटिएको हुनुपर्ने स्पष्ट पारिएको छ ।
बैंकहरूले ३ करोड रुपैयाँसम्मका यस्ता कर्जाहरूलाई अब ‘अन्य सम्पत्ति’ अन्तर्गत ६० प्रतिशतको जोखिम भारमा गणना गर्न पाउनेछन्, जसले बैंकहरूको प्राथमिक पूँजी कोषमा परेको दबाबलाई केही हदसम्म कम गर्नेछ ।

























