पेट्रोल–डिजेल गाडीलाई ईभी बनाउन कानुन बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न पाउने गरी कानुन बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा वातावरण संरक्षण र इन्धन खपत कम गर्ने उद्देश्यले उक्त निर्णय लिइएको बताए।
पोखरेलले भने, ुडिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ। यसले एकातिर इन्धनको परनिर्भरता घटाउनेछ भने अर्कोतिर नेपालको नवीकरणीय ऊर्जाको खपत पनि बढाउन मद्दत गर्नेछ ।’
पेट्रोलियम पदार्थको बढ्दो आयात र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सरकारले पेट्रोल र डिजेलका गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न सहजीकरण गर्ने भएको हो।
डिजेल तथा पेट्रोलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने विषय लामो समयदेखि चर्चामा रहे पनि रुपान्तरण हुन सकेका छैनन्। यातायात व्यवस्था विभागले मापदण्ड बनाउन नसक्दा चाहनेहरुले पनि रुपान्तरण गर्न नसकेका हुन्।
२०७८ सालमै सरकारले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड’मा पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न सक्ने व्यवस्था गरेको थियो। यातायात व्यवस्था विभागले प्राविधिक मापदण्डको मस्यौदा बनाए पनि स्वीकृत हुन सकेको छैन।

























