stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल विकासशीलमा तत्काल स्तरोन्नति नहुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति तत्काल नहुने बताउनुभएको छ । नेपाल आगामी नोभेम्बर २६ मा अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने निर्धारित कार्यतालिका रहेकामा नेपाली उद्योगी व्यवसायीले अहिलेको प्रतिकूल आर्थिक अवस्थामा स्तरोन्नति स्थगन हुनुपर्ने माग गर्दै आएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको मङ्गलबारको भेटमा उहाँले नेपाल स्तरोन्नति भइहाल्छ कि भन्ने निजी क्षेत्रको पीरलाई आफूले बुझेको बताउँदै भन्नुभयो, “म यो तत्काल हुँदैन भन्ने मान्यता राख्छु ।”उहाँले नेपाल गरिखाने मान्छेको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने पनि बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेले चेम्बरका पदाधिकारीलाई अर्थतन्त्र बलियो बनाउन हातेमालो गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “देश बनाउने हुटहुटी बोकेर आएका छौँ । तपाईंहरूलाई उड्ने, फैलने सुविधा राज्यले दिन्छ ।”

अर्थतन्त्र बलियो बनाउन, मुलुकको सर्वाङ्गीण विकास गर्ने काममा सबै जना एक ठाउँमा उभिन तयार रहन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनूस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु तर नियोजित र प्रायोजित गल्ती तथा बेइमानीमा भने हामी निर्मम हुन्छौँ ।”

उहाँले इमानदार उद्योगी, व्यापारी कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन सरकारले काम गर्ने बताउँदै रोजगारी सिर्जना गर्नेले राज्यका कारण अब दुःख हैरानी नपाउने ग्यारेन्टी आफूले गर्ने वचन दिनुभयो । उहाँले भन्नुभयो, “उद्योग गर्न, अर्थतन्त्र बनाउन राज्यले के के गर्नु पर्छ भन्नूस्, हामी सबै गर्छौं । तपाईंहरू पनि इमानदार भइदिनूस् ।”

यसअघि नेपाल उद्योग परिसङ्घ (सिएनआई) का पदाधिकारीसँगको सोमबारको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकले निर्वाचनपछि राजनीतिक स्थिरता प्राप्त गरेको र त्यसकै जगमा नीतिगत स्थिरतामार्फत अब मुलुकको आर्थिक समृद्धि हासिल गर्ने बताउनुभएको थियो । उहाँले सरकारले निजी क्षेत्रमुखी आर्थिक वातावरण तयार गर्ने काम सुरु भइसकेको समेत बताउनुभयो ।

अर्थमन्त्री वाग्लेले ओरालोमा रहेको अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा आएको बताउनुभयो । “नेपालको निजी क्षेत्र उत्साहित भएपछि नै विदेशी लगानी आउने हो,” उहाँले भन्नुभयो, “आएकै दिन अनुपयुक्त कानुन खारेज गर्ने निर्णय निजी क्षेत्रमैत्री सन्देश प्रवाह गरेका छौँ, सरकार निजी क्षेत्रमैत्री छ । आयात प्रतिस्थापन गर्ने उत्पादनमूलक उद्योगलाई सरकारले फरक रूपमा हेर्ने उहाँको भनाइ थियो ।

उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री आर्थिक वातावरण बनाउने तर उदारताका नाममा छाडा हुन भने नदिइने उहाँले स्पष्ट पार्नुभयो । मन्त्री वाग्लेले बहुराष्ट्रिय ठुला कम्पनी वा त्यसको लगानी भित्र्याउन भूमिका खेल्न परिसङ्घलाई आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुशासन तथा उच्च आर्थिक वृद्धिको अपेक्षा हासिल गर्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले आगामी बजेटबाटै स्पष्ट रूपमा सरकारले समग्र अर्थतन्त्रलाई केन्द्रमा राखेर सुधारको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले रोजगारी सिर्जना, उच्च अङ्कको आर्थिक वृद्धि हासिल तथा आयात प्रतिस्थापन गर्न उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति सरकारले लिनुपर्ने सुझाउनुभयो । उहाँले पैसा कमाउनु अपराध हो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले बजार माग बढ्न नसकिरहेको विद्यमान अवस्थामा समग्र माग बढाउने नीति लिइनुपर्नेमा पनि जोड दिनुभयो ।

छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायले लगानी सहजीकरणका लागि अप्ठ्यारो पारेका ऐनका प्रावधान तथा गरिनुपर्ने व्यवस्थाका विषयमा सुझाव दिन आग्रह गर्नुभयो ।

सो छलफलमा परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्वअध्यक्ष हरिभक्त शर्मा, विष्णुकुमार अग्रवाल लगायतले सरकारले आर्थिक सुधार तथा उच्च अङ्कको आर्थिक वृद्धि हासिल गर्न केन्द्रित गर्नुपर्ने विषयमा सुझाव दिनुभयो ।

prabhu mahalaxmi
kumari