सेन्चुरी कमर्सियल बैंकको खुद नाफा ३४% वृद्धि
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३४५ ले धेरै हो । अघिल्लो वर्ष यस बैंकले ६७ करोड ६४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १०.४१% र १९.७७% ले बढाउन सफल भएको छ ।
वितरण योग्य नाफा भने २५.२३% ले घटेर ४० करोडमा सीमित भएको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः १२.६६% र १.९५% ले बढाउन सफल भएको छ ।
असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १ अर्ब ५३ करोड रुपैयाँ छ । पुँजीको आधारमा हेर्दा रिजर्भ कोष भने तुलनात्मक रुपमा कमजोर देखिन्छ ।
तर गत वर्षको तुलनामा भने रिजर्भ कोषमा आकर्षक सुधार भएको हो । चौथो त्रैमाससम्म आइपुग्दा सेन्चुरीको प्रतिसेयर आम्दानी ० रुपैयाँ ५४ पैसाले बढेर १० रुपैयाँ ७७ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७६ पैसा रहेको छ ।























