भारतले तेस्रोपटक चुम्यो ‘विश्वकप क्रिकेट ट्रफी’
अहमदाबाद (भारत) । भारत अहमदाबादको नरेन्द्र मोदी रंगशालामा आइतबार राति खेलिएको फाइनलमा भारतले न्युजिल्यान्डलाई हराउँदै ‘टी २० क्रिकेट विश्वकप–२०२६’ उपाधि जितेको छ । भारतको २५५ रनको जवाफमा न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा ‘अलआउट’ भएको हो ।
टिम इन्डियाले तेस्रोपटक ‘टी–२० विश्वकप’ उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करण र २०२४ मा रोहित शर्माको कप्तानीमा उपाधि जितेको थियो । अब सूर्यकुमार यादव पनि विश्व विजेता कप्तानमा सूचीकृत भएका छन् ।
भारतको इनिङ्स बन्यो २५५
रन भारतले न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य दिएको थियो । यस खेलमा भारतले कीर्तिमान बाढी नै तोड्यो । पहिले ब्याटिङ गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाएको थियो । भारतको ३०० रन पुग्ने सम्भावनाबीच १६औं ओभरमा निशमले तीन विकेट लिए, जसले गर्दा रनरेट सुस्त हुन पुग्यो । १५औं ओभरपछि भारतको स्कोर १ विकेटमा २०३ थियो । यसपछि भारतले १६औं ओभरमा सञ्जु सामसन, इशान किशन र सूर्यकुमार यादवलाई गुमायो, त्यस ओभरमा एक रन बनाइयो ।
त्यसपछि १७औं ओभरमा सात रन बनाइयो र १८औं ओभरमा ९ रन बनायो । हार्दिक पाण्ड्या १९औं ओभरमा आउट भए, जसका कारण भारत ११ रन पछाडि प(यो । यद्यपि, अन्तिम ओभरमा शिवम दुबेको प्रदर्शनले टोलीलाई २५० पार गर्न मद्दत गर्यो । दुबे आठ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २६ रनमा अविजित रहे । भारतले अन्तिम २०औं ओभरमा २४ रन बनाएको थियो ।
सञ्जु सामसन र अभिषेक शर्माले भारतलाई बलियो सुरुवात दिलाएका थिए । अभिषेकले फर्ममा फर्किए र फाइनलमा उत्कृष्ट प्रदर्शन गरे । उनले २१ बलमा ५२ रन बनाए, ६ चौका र ३ छक्का प्रहार गरे । रचिन रविन्द्रबाट ‘आउट’ हुनुअघि अभिषेक र सञ्जुले ४३ बलमा ९८ रनको ओपनिङ साझेदारी गरेका थिए । सञ्जुले त्यसपछि इशान किशनसँग ४८ बलमा दोस्रो विकेटका लागि १०५ रनको साझेदारी गरे ।
सामसनले लगातार तेस्रो अर्धशतक बनाए भने इशान किशनले पनि आफ्नो अर्धशतक पूरा गरे । यद्यपि, दुवै १६औं ओभरमा ‘आउट’ भए । फेरि पनि शतक बनाउन चुकेका सामसन ४६ बलमा ८९ रनमा ‘आउट’ भए ।
उनले पाँच चौका र आठ छक्का प्रहार गरेका थिए । यसैबीच, इशान शर्माले २५ बलमा ५४ रन बनाए, जसमा चार चौका र चार छक्का प्रहार थियो । त्यस्तै, हार्दिकले १३ बलमा १८ रन बनाए, जबकि सूर्यकुमारले आफ्नो खाता खोल्न सकेनन् । तिलक ६ बलमा ८ रनमा अविजित रहे ।
त्यस्तै, न्युजिल्यान्डका लागि निशमले तीन विकेट लिए भने म्याट हेनरी र रचिनले एक–एक विकेट लिए । भारतको २५५÷५ को स्कोर ‘टी–२० विश्वकप फाइनल’मा सबैभन्दा बढी योगफल हो । भारतले आफ्नै दुई वर्ष पुरानो रेकर्डसमेत तोडेको छ । सन् २०२४ को ‘टी–२० विश्वकप’ फाइनलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध ७ विकेटमा १७६ रन बनाएको थियो ।
न्युजिल्यान्ड १५९ रनमै सीमित
न्युजिल्यान्डका लागि टिम सेफर्ट र मिचेल सान्टनरले मात्र रन बनाउनसके । यसबाहेक डेरिल मिचेलमात्र दोहोरो अंकमा पुग्ने खेलाडी थिए । अन्यथा, बाँकी सबै १० रनभित्र ‘आउट’ भए । सेफर्टले २६ बलमा ५२ रन बनाए भने स्यान्टनरले ३५ बलमा ४३ रन बनाए ।
मिचेलले १७ रन बनाए । फिन एलेनले ९, रचिन रविन्द्रले १, ग्लेन फिलिप्सले ५, मार्क च्यापम्यानले ३, जेम्स निशमले ८ र डफीले ३ रन बनाएका थिए । म्याट हेनरी भने अविजित रहे ।

























