सानिमा लाइफ इन्स्योरेन्सको ८ करोड भन्दा बढी नाफा
काठमाडौं । सानिमा लाइफले इन्स्योरेन्सले गत आ.व.को चौंथो त्रैमासमा रु. ८ करोड ५३ लाख ८४ हजार खुद नाफा गरेको छ । कम्पनीले साउन २८ गते चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
उक्त विवरण अनुसार अघिल्लो वर्ष यो नाफा रु. ८ करोड ९१ लाख ७ हजार थियो । अघिल्लो वर्षको चौंथो त्रैमासको भन्दा गत वर्ष चौंथो त्रैमासमा कम्पनीको नाफा ४ प्रतिशतले कम भएको हो ।
कम्पनीको कुल बीमा शुल्क आर्जन रकम भने अघिल्लो वर्ष भन्दा ५८ दशमलव ८४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रु.५२ करोड ८० लाख कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष रु. ८३ करोड ८७ लाख आर्जन गरेको हो ।
गत वर्ष कम्पनीले रु. १ करोड २० लाख ३४ हजार कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष त्यस अवधिमा रु. ४१ लाख ६९ हजार मात्र दाबी भुक्तानी गरेको थियो । दाबी भुक्तानी रकम भने १८८ प्रतिशत बढी भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब ४० करोड रहेको छ । यस कम्पनीले रु. २ अर्ब चुक्ता पूँजी कायम गर्न सर्वसाधारणमा रु. ६० करोड बराबरको आईपीओ विक्री गर्नेछ । जगेडा कोष रकम अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत घटेर रु. १२ करोड २० लाख ३ हजार कायम भएको छ भने जीवन बीमा कोष रकम अघिल्लो वर्षभन्दा ३२६ दशमलव ७४ प्रतिशत बढेर रु. ९५ करोड ८ लाख ८४ हजार पुगेको छ ।
नयाँ कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले गत वर्ष रु. ३ करोड ६७ लाख १ हजार बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले यो कर्जा प्रवाह गरेको थिएन ।


























