कालीमाटीमा उपत्यकावासी उपभोक्ताका लागि आएको तरकारी बिक्री हुन नपाएर थन्किए
काठमाडौँ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा उपत्यकावासी उपभोक्ताका लागि आएको तरकारी बिक्री हुन नपाएर थन्किएको छ ।
‘जेनजी’ युवाको आन्दोलनका कारण कालीमाटी क्षेत्र बिहानदेखि नै तनावग्रस्त भएपछि सोमबार रातिदेखि मङ्गलबार बिहान ९ बजेसम्म उपत्यका बाहिरबाट आएका तरकारी साना बजार र तरकारीका खुद्रा बजारमा जान नपाएर थन्किएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दैनिक जस्तै छ सयको मेट्रिक टनको हारहारीमा तरकारी आएको थियो । बजारमा सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म आएको तरकारी उपत्यकाका साना बजारमा लैजाने क्रम जारी रहेकै बेला कालीमाटी वरपर कफ्र्यु लागेपछि बजार बन्द गरियो ।
बजार बाहिर आन्दोलन भएकाले मानिसको आउजाउ नै रोकिएकाले तरकारी बजार आफैँ बन्द भएको कालीमाटी तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो ।
कालीमाटी थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बजारमा तरकारी पर्याप्त भए पनि बजार खोल्न सक्ने अवस्था नरहेको जानकारी दिनुभयो ।























