माछापुच्छ्रे बैंकको असोज १२ गते २७ औँ वार्षिक साधारण सभा
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभा आउँदो असोज १२ गते आयोजना गर्ने निर्णय गरेको हो।
साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने ४६ करोड ४८ लाख ५४ हजार २९०.९२ रुपैयाँ बराबरको बोनस शेयर र ४६ करोड ४८ लाख ५४ हजार २९०.९२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) छन्।
साधारण सभाले १०० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशतको माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। बैंकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव साधारण सभाले अनुमोदन गर्नेछ।
बैंकको विशेष प्रस्तावमा बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट प्रस्ताव रायसुझाव बमोजिम गर्न सञ्चालक समितिका पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट रिक्त सञ्चालक पदमा सञ्चालक समितिले साबिक सञ्चालकको बाँकी कार्यकालका गरेको सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक सम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।

























