उधारो उठाउने कानुन बनाउन महासंघ अध्यक्ष ढकालको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन्। जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवसमा उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन्।
महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघको पहल र पैरवीले सरकारले विभिन्न ३० वटा कानूनहरु संशोधन गरेको र यसबाट लगानी मैत्री वातावरण सिर्जना भएको बताए।
उनले निजी क्षेत्रको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरे। अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघले नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीहरूको समस्या समाधान गर्न र स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न सक्रिय रहनुपर्नेमा बताए।
उनले जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको बताए।























