भोटेकोशीको बाढीले १० वटा जलविद्युत उत्पादन ठुलो असर
काठमाडौं । गत असार २४ गते मंगलवार बिहान मित्रराष्ट्र चीनको तिब्बतहुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याउनुका साथै नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमासमेत ठूलो क्षति पुर्याई ७ जनाको ज्यान जानुका साथै १९ जना नागरिक बेपत्ता भएका छन।
यो प्रकृतिक घटना दुस्खद छ । प्रकृतिमा आएको परिवर्तनले यस्तै अस्वभाविक घटना बढदै गएका छन। हिउँपर्ने ठाउँमा वर्षा भैरहेको छ,हिउँ पहिरो आइरहेका छन र ताल फुटेर बाढी आएका छन।
उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाट भन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिँदा ती आयोजनामा निकै ठूलो भौतिक र आर्थिक क्षति भएको छ ।
यो बाढीबाट १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ । यी मध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३ बी हब सवस्टेशनमा समेत क्षति भएका कारण उत्पादन बन्द भएको छ ।
देवीघाट, त्रिशूली र त्रिशूली ३ ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन। निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन् ।
त्यस्तै निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३ बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिन्छ ।
टिमुरे सुख्खा बन्दरगाहबाट दर्जनौं मालबाहक कन्टेनर र भन्सार बिन्दुमा राखिएका सयौं गाडीहरुसमेत बाढीले बगाएको, निर्माणाधीन सुख्खा बन्दरगाह पूर्णरुपमा खण्डहर बनेको र नेपाल–चीन मुख्य व्यापारिक नाकाको पुल नै बगाउँदा यसले नेपाली व्यवसायीहरुमा गहिरो प्रभाव पार्ने भएको छ।
यो पुल कहिले बन्ने र यो नाका कहिलेबाट सुचारू होला भनेर चिन्ता छाउन थालेको छ। नेपाल( चीनको एक मात्र ठुलो नाका बन्द हुँदा बजारमा चिनियाँ सामानको मूल्य मात्र बढन थालेको छैन,चिनियाँ फलफुल र खाद्य पदार्थको पनि मूल्य बढन थालेको छ।
नेपाल र चीनबीच वार्षिक १ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार हुने मुख्य नाका बन्द हुँदा यसले नेपाल सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पार्ने हुँदा जतिसक्दो छिटो सरकारले नाका सुचारु हुने वातावरण बनाउनु पर्दछ।
चिनियाँ राजदुतलाई आग्रह गरेर दशैं अगाडि नै बेलिब्रिज पुल निर्माण गर्न आग्रह गर्नुपर्छ। चिनियाँ सेनाले यस्तो बेलिब्रिज पुल एक महिनामै निर्माण गर्न सक्छ। नेपालले यहाँ तत्कालै पुल बनाउन सक्दैन। पक्की पुल बनाउन दुईर तीन वर्ष लाग्न सक्ने हुँदा बेलिब्रिज नै उपयुक्त हुन्छ। यसतर्फ सरकारको ध्यान जानुपर्छ ।
बाढी पहिरोले विध्वंश मच्चाइरहेको बेलामा समेत रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ३६ जना सहित करिब १५० जना नागरिकको उद्धारमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले देखाएको तदारुक्ताकोलागि सम्वद्ध सबै निकायलाई धन्यवाद व्यक्त गर्दै क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्यहरु अघि बढाउन पनि नेपाल सरकारसँग आग्रह छ ।



























