stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाली बजारमा समेत लोकप्रिय बने चिनियाँ ईभी, थपिदै ब्रान्ड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

विश्वमै तहल्का मच्चाउने गरी अगाडि बढिरहेको इलेक्ट्रिक भेइकल बजारमा चिनियाँ इलेक्ट्रिक कार अर्थात ईभीको बर्चस्व बढ्दै छ । यसको सिधा असर नेपाली बजारमा समेत देखिएको छ ।

विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय (ईभी) गाडीको बजार बढाउँदै लगेको छ ।

केही दिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरेको छ भने त्यो भन्दा पहिले देखि नै विभिन्न ब्रान्डको चहलपहल नेपाली बजारमा देखिएको छ । बीवाईडी, दिपल, लिपमोटर, एमजी लगायतका विभिन्न मोडलले नेपाली ईभी बजारलाई अगाडि बढाइरहेका छन् ।

नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका सवारी साधनले प्रभाव जमाउँदै आएपनि पछिल्लो समयमा चिनियाँ मोडलका ईभीले स्थान ओगट्न थालेका छन् ।

व्यवसायी हेमन्तराज कक्षपति चिनियाँ ब्राण्डका कम्पनीहरु एकदमै बलियो भएको अनुभव रहेको सुनाए । ‘वितेको दुईचार बर्षमा चिनियाँ ईभी गाडी नेपालमा बढेको छ । तर पनि धोका दिन्छ कि भन्ने त्रास छ । कमजोरीहरु सुधारेर अघि बढ्ला भन्ने अपेक्षा छ ।’

नेपाल टुरिष्ट भेइकल एसोसिएसनका पूर्वअध्यक्ष एवम व्यवसायी मनोज श्रेष्ठले चिनियाँ ईभी गाडीहरु लक्जरियस रहेको सुनाउँदै भने, ‘चिनियाँ ईभीहरुका सबै फिचर राम्रा छन् । ईभीको भविष्य राम्रो देख्छु । चिनियाँ ईभी बसहरु थप भित्र्याउन आवश्यक छ ।’

अर्का व्यवसायी बेदराज बाँस्तोलाले चिनियाँ ईभी बसको सेवा सुविधाहरु राम्रो रहेको सुनाउँदै भने,‘नेपालमा चिनियाँ ईभी बसको संख्या बढ्दै जानु पर्यटन क्षेत्रका लागि अति नै आवश्यक छ । यसको परीक्षणपछि विस्तारै अपग्रेड गर्ने काममा कम्पनीले काम गर्नुपर्छ ।’

विगतका तथ्यांकलाई हेर्ने हो भने पनि चिनियाँ ईभी गाडीहरुको संख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा निजी कार बिक्रीमा मात्र ७१.५ प्रतिशत हिस्सा ईभीले ओगटिसकेको छ ।

उक्त बर्ष मा चीनबाट मात्रै ८ हजार ६५ वटा ईभी नेपाल भित्रिएका थिए भने गाडी भित्रिएको संख्या हेर्दा भारत दोस्रो नम्बरमा परेको थियो ।

नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका ईभी भित्रिरहे पनि पछिल्लो समय चिनियाँ गाडीको संख्या बढ्दै गएको व्यवसायी राजु श्रेष्ठको भनाइ छ ।

कुल ईभीमा चीनबाट आयात भएका ईभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आयात भएका ईभीको अनुपात ३६.१२ प्रतिशत रहेको तथ्यांकहरु सार्वजनिक भइसकेका छन् ।

नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न लिएको कर छुट नीतिले पनि ईभीप्रतिको मोह बढेको देखिन्छ ।

नेपालको अटो बजारमा चिनियाँ ईभीप्रतिको क्रेज बढ्नुको अर्को कारण सस्तो मूल्यमा गाडी उपलब्ध गराउनु रहेको व्यवसायीहरुको भनाइ छ । आर्थिक वर्ष २०७३/७४ को बजेट मार्फत विद्युतीय सवारी साधन आयातमा कर छुट दिने नीतिले व्यवसायीलाई प्रोत्साहित गरेको छ ।

नेपाल सरकारले चिनियाँ गाडी आयातमा केही नियम फेरबदल गरेपनि संख्या घट्नुको साटो बढ्दै गइरहेको छ । नेपालको बजारमा केही वर्ष अघिसम्म नगन्य आयात हुने चिनियाँ कम्पनीका गाडीले अहिले वर्चस्व जमाउन थालेका हो । योसँगै भारतीय गाडीको उपस्थिति घट्नसक्ने अनुमान गरिएको छ ।

गएको आर्थिक वर्षमा कुल ३४ अर्ब ९१ करोड रूपैयाँका जिप, कार, भ्यान आयात भएका थिए।त्यसमध्ये चीनबाट मात्रै २२ अर्ब ५५ करोड रुपैयाँको आयात भएको तथ्यांक थियो भने भारतबाट १० अर्ब ९७ करोड रुपैयाँको आएको छ । यस हिसाबले पनि चिनियाँ अटो बजार नेपालमा आक्रमक भएको देखिन्छ ।

यी सबै तथ्य हुँदाहुँदै पनि भविष्य सुनिश्चित गर्नका लागि ईभी निर्माता कम्पनीका स्थानीय आयातकर्ताहरुले विभिन्न पूर्वाधार निर्माण गर्नुका साथै बिक्री पछिको सेवामा विशेष ध्यान दिनु आवश्यक देखिन्छ । चार्जिङ स्टेसन र सर्भिस सेन्टर तथा स्पेयर पार्ट्समा विशेष ध्यान दिन सक्ने हो भने ईभी प्रयोगकर्ताहरु पनि ढुक्क हुन सक्ने अवस्था हुनेछ ।

prabhu mahalaxmi
kumari