प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न
लाभांश र हकप्रद प्रस्ताव पारित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा आज असोज २३ काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।
साधारण सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरण पश्चात कायम पूँजीको ७ प्रतिशत हकप्रद निष्काशन गर्ने एजेण्डा पनि पारित भएको छ ।
साधारण सभाका लागि प्रस्तावित अन्य एजेण्डाहरू प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित भएको कम्पनीले जनाएको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश पाउने छन् ।

























